नेपाल सरकारको लगानी रहेका सार्वजनिक संस्थानहरूको समग्र वित्तीय अवस्थामा सुधार आएको छ। ‘सार्वजनिक संस्थानहरूको वार्षिक समीक्षा २०८३’ अनुसार सञ्चालनमा रहेका ४५ वटा संस्थानमध्ये २७ वटा नाफामा सञ्चालित छन् भने १६ वटा नोक्सानमा रहेका छन्। बाँकी २ वटा संस्थानले भने आफ्नो वित्तीय विवरण बुझाएका छैनन्। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २८ वटा संस्थान नाफामा र १५ वटा नोक्सानमा रहेका थिए। यस वर्ष नाफा कमाउने संस्थानहरूको सूचीमा कुल १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै नेपाल आयल निगम सबैभन्दा अगाडि अर्थात् पहिलो संस्थान बन्न सफल भएको छ। आयल निगमसँगै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको नाफामा भएको उल्लेख्य वृद्धिले समग्र सार्वजनिक संस्थानको नाफा बढाउन मुख्य योगदान पुर्याएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यो लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४४ प्रतिशतले बढी हो, जतिबेला कुल लगानी ७ खर्ब ३ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ मात्र थियो। गत आर्थिक वर्षमा संस्थानहरूमा सरकारको सेयर लगानी १.४८ प्रतिशतले बढेर ३ खर्ब ७० अर्ब २५ करोड १९ लाख रुपैयाँ पुगेको छ भने ऋण लगानी २६.३२ प्रतिशतको उच्च वृद्धि सहित ४ खर्ब २८ अर्ब ३१ करोड १५ लाख रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ। कुल ऋण लगानीको सबैभन्दा ठूलो हिस्सा अर्थात् ८१.७३ प्रतिशत नेपाल विद्युत् प्राधिकरणमा मात्रै रहेको समीक्षामा उल्लेख छ।
वित्तीय सूचकहरूलाई हेर्दा संस्थानहरूको कुल सेयरधनी कोष ३.८९ प्रतिशतले वृद्धि भई १० खर्ब ७३ अर्ब २८ करोड ३१ लाख रुपैयाँ पुगेको छ। यस्तै, गत आर्थिक वर्षमा संस्थानहरूको कुल आय अघिल्लो वर्षको तुलनामा ०.६७ प्रतिशतले बढेर ७ खर्ब २१ अर्ब १४ करोड ७७ लाख रुपैयाँ कायम भएको छ, जुन मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ११.८ प्रतिशत बराबर हो। संस्थानहरूको कुल सञ्चालन आयमा पनि ०.६६ प्रतिशतको सामान्य वृद्धि भई ६ खर्ब ७२ अर्ब ४० करोड २६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ६ खर्ब ६८ अर्ब ३ लाख रुपैयाँ रहेको थियो।
समग्र रूपमा हेर्दा आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानहरूको कुल खुद नाफा ४० अर्ब २४ करोड २८ लाख १५ हजार रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा १२.०३ प्रतिशतले वृद्धि भई ४५ अर्ब ८ करोड ४९ लाख रुपैयाँ कायम भएको छ। नाफामा चल्ने संस्थानहरूको खुद नाफा १०.५८ प्रतिशतले बढेर ४८ अर्ब ८९ करोड ६ लाख रुपैयाँ पुग्दा नोक्सानमा चल्नेहरूको खुद नोक्सानीमा ४.१४ प्रतिशतले कमी आई ३ अर्ब ८० करोड ५७ लाख रुपैयाँमा झरेको छ। संस्थानहरूको समग्र सञ्चित नाफामा २१.५१ प्रतिशतको उत्साहजनक वृद्धि देखिए पनि सञ्चित नोक्सानमा सञ्चालित संस्थानहरूको कुल सञ्चित नोक्सानी भने ७.५३ प्रतिशतले बढेर ५१ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ पुग्नुले अझै पनि केही संस्थानहरूको वित्तीय स्वास्थ्यमा थप सुधार आवश्यक रहेको संकेत गर्दछ।