प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सार्वभौमसत्ताविरोधी अभिव्यक्तिले विवाद सिर्जना भएको छ ।
प्रधानमन्त्री शाहले संसद् बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा ‘…नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ…’ भन्ने अभिव्यक्ति दिएपछि राजनीतिज्ञ, कूटनीतिज्ञ तथा सीमाविद्हरूले उनको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री शाहको अभिव्यक्तिलगत्तै विरोध सुरु भएको छ ।
राजनीतिज्ञ, कूटनीतिज्ञ तथा सीमाविद् भन्छन्– प्रधानमन्त्री गलत, नेपालले सीमा मिचेको छैन
प्रधानमन्त्री शाहलाई नेकपा एमालेका सांसद पद्मा अर्याल र श्रम संस्कृति पार्टीका सांसद आरेन राईले लिपुलेक, लिम्पियाधुरामा चीन र भारतले व्यापार गर्ने गरी बाटो खोलेको विषयमा जवाफ मागेका थिए । सांसदहरूले सिमानामा दुई देशले सडक बनाएको विषयमा प्रधानमन्त्रीको धारणा माग्दा प्रधानमन्त्री शाहले आफूहरूले कूटनीतिक नोट पठाएको जानकारी दिएका थिए ।
जानकारी दिने क्रममा प्रधानमन्त्रीले भने, ‘तपाईंहरुलाई अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रै’छ, यो कुरा अस्ति भर्खर थाहा पाइयो, दुइटै देशका प्रतिनिधि बसेर साथीको रूपमा समाधान गर्ने धारणा बनाएका छौं ।’
शाहले भने, ‘यससम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाफ पनि आएको छ । त्यो जवाफमा दुइटै सरकारले आफ्ना इतिहासविद्हरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमिसम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टकमार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ । यससम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ । उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउँछु ।’
यसरी प्रधानमन्त्रीले भारतीय भूमि नेपालले मिचेको अभिव्यक्ति संसद्मा उभिएर दिँदै गर्दा रास्वपा सांसदले ताली बजाएका थिए भने विपक्षी दलका सांसद भने मुखामुख गर्दै थिए ।
प्रधानमन्त्री शाहले सीमा विवादमा चीन र भारतसँगै बेलायत सरकारसँग समेत कुरा गर्ने गरी आफूले तयारी गरेको बताएपछि कूटनीतिक क्षेत्रमा समेत तरंग आएको छ । दुई देशको विषयमा सार्वभौम राष्ट्रहरू आपसमा संवाद गरेर हल गर्दा सम्भव नभए संयुक्त राष्ट्रसंघको मध्यस्थता खोज्नुपर्नेमा आफैँ तेस्रो पक्षसँग कुराकानी गर्नु कूटनीतिक कमजोरी भएको कूटनीतिज्ञहरू बताउँछन् ।
लिपुलेक र लिम्पियाधुराका विषयमा उठेका प्रश्नमा प्रधानमन्त्री शाहले सीमा विवाद’bout दिएका विवादास्पद अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा व्यापक आलोचनासहित टिप्पणी सुरु भएको छ । प्रधानमन्त्री शाहको अभिव्यक्ति पूर्ण रूपमा गलत भएको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताएका छन् । सीमाविद् श्रेष्ठले भनेका छन्, ‘इतिहासकै अत्यन्तै गलत, खेलाँचीपूर्ण र गैरजिम्मेवार अभिव्यक्ति प्रधानमन्त्रीबाटै आउनु दुःखद् हो, नेपालले चीन वा भारत कसैको पनि कतै कुनै सिमाना मिचेको छैन ।’
नेपालतर्फ नै भारतले सिमाना मिचेको विषय पटक पटक उठिसकेको बताउँदै नेपाल–भारत वार्ताबाट समाधान गर्नुपर्ने विषयलाई लामो समयदेखि भारतले टार्दै आएको समेत श्रेष्ठले बताए ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसद्मा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताए । काठमाडौं महानगरपालिकाको मेयर हुँदा टिस्टादेखि सतलजसम्मको ग्रेटर नेपालको नक्सा राखेका बालेनले अंग्रेजले अतिक्रमण गरेको एकतिहाइ नेपाल फिर्ता ल्याउन लाग्नुपर्नेमा ‘नेपालले मिचेको छ’ भन्नु लज्जास्पद र भारतसमक्ष आत्मसमर्पणवादी भएको बताए । पूर्वप्रधानमन्त्री खनालले भने, ‘अंग्रेजले एसिया नै कब्जा गरेको थियो, अंग्रेजले छोडेपछि अरू सबै देशले आफ्नो आफ्नो देश स्वतन्त्र भएको घोषणा गरे । तर एकतिहाइ नेपाली भूमिमाथि भारतले कब्जा जमाइरह्यो, प्रधानमन्त्री भएका बालेनले यो कुरा कहिले उठाउने ?’
पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री शाहको अभिव्यक्ति आपत्तिजनक, सन्देहास्पद र भत्र्सनायोग्य भएको बताए । ज्ञवालीले भने, ‘संसद्को रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको आपत्तिजनक छ ।’
संसद्मा सिमानाको विषयमा प्रधानमन्त्रीले बोलेको विषयलाई सिंगो राष्ट्र र अन्तर्राष्ट्रिय समुदायले समेत गम्भीर भएर हेरिरहेको ज्ञवालीले बताए । भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा भनेजस्तो नेपालले भारतको जमिन मिचेको कुनै टिप्पणीसमेत नसुनेको बताएका छन् ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्रीसमेत रहेका उपाध्यायले भने, ‘कुनै तथ्यका आधारमा भनिएको हो भने प्रधानमन्त्रीले तथ्य उल्लेख गर्नुपथ्र्यो, कुन परिवेश र कसको सन्दर्भलाई जोडेर भनेको हो, यसले स्वाधीनता र सार्वभौमसत्तामा नै प्रश्न उठ्ने अवस्था भयो ।’
आफूहरूले गरेको अध्ययनमा अहिलेसम्म नेपालले भारतको जग्गा मिचेको कतै नभेट्टाएको, नसुनेको र भारतले पनि त्यो कुरा कतै नभनेको उपाध्यायले बताए । उपाध्यायले सीमा क्षेत्रका धेरै नागरिकको दुवै देशमा जग्गा भएको, दुवै देशको उत्तिकै प्राथमिकतामा राख्ने भेटिएको र खेती गर्दा दशगजा यता र उता भएको हुनसक्ने भए पनि तथ्यांकमै नेपालबाट सीमा नै मिचिएको विषय अहिलेसम्म आफूले नसुनेको बताए ।
उनले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, सन्धि–सम्झौता, सीमा विवादित विषयमा समस्या समाधान गर्न गठित नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)ले पनि नेपाल र भारतको सीमा विवाद अधिकांश समाधान भइसकेको र लिम्पियाधुरा, लिपुलेक, सुस्ता तथा कालापानीका विषयमा दुवै देशबाट उच्चस्तरीय संयन्त्रबाट टुंगो लगाउने भनिए पनि भारतले त्यसलाई ध्यान नदिएको बताए ।
पूर्वमन्त्री जनार्दन शर्माले पनि प्रधानमन्त्री शाहको अभिव्यक्ति आपत्तिजनक भएको बताए । शर्माले नेपालको स्वाभिमान र स्वाधीनताको विषयमा कच्चा अभिव्यक्ति दिएको टिप्पणी गरे ।
७१ स्थानमा भारतीय अतिक्रमण
भारतले नेपालको लिम्पियाधुरा लिपुलेकमा चीनसँगको व्यापारिक मार्ग बनाएपछि मात्रै सीमा विवाद चर्किएको भने होइन । नेपालको ७१ स्थानमा भारतले सीमा अतिक्रमण गरेको पटक–पटकका सीमासम्बन्धी अध्ययनले देखाएको छ । विभिन्न अध्ययनका अनुसार ७१ स्थानको ६०६ वर्गकिलोमिटर भूभाग अतिक्रमण भएको छ ।
रवि भारत जाने पूर्वसन्ध्याको योजनाबद्ध अभिव्यक्ति
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिलाई पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा दिइएको योजनाबद्ध अभिव्यक्ति भन्दै आशंका र टिप्पणी गरिएको छ । दुईतिहाइ जनमत पाएर सत्तामा रहेका प्रधानमन्त्रीले पार्टी सभापति भारत जानु अघिल्लो दिन दिएको अभिव्यक्तिले उनको नियत, दृष्टिकोण, पर्दापछाडिका गतिविधिसमेतलाई उदांगो पारेको विश्लेषण भइरहेको छ । राजधानी दैनिकमा खबर छ