३० जेष्ठ २०८३, शुक्रबार

३३ हजार विद्यार्थीको ‘रिटोटलिङ’ ले खोतलेको रहस्य: शिक्षकले कपि जाँचे कि निदाएर नम्बर थपे?


राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजामा चित्त नबुझाएर ३३ हजार ८ सय ५१ विद्यार्थीले पुनर्योग (रिटोटलिङ) का लागि आवेदन दिएका थिए । शिक्षक र बोर्डको लापर्बाहीका कारण तीमध्ये ५ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा बदलिएको छ । कसैको विज्ञान र सामाजिकमा त कसैको अंग्रेजी जस्तो विषयमा सुरुमा कम जीपीए वा ‘एनजी’ (फेल) आएकोमा पुनर्योग गर्दा सिधै ४ जीपीएसम्म कायम भएको अनौठो र गम्भीर लापरबाही भेटिएको छ । उत्तरपुस्तिका जाँच गर्दा प्राप्ताङ्क जोड्न छुटाउने, ७० नम्बर आउँदा कम्प्युटरमा ७ मात्र इन्ट्री गर्ने र जोडघटाउमै त्रुटि गर्ने जस्ता फितलो कामले गर्दा विद्यार्थीहरू मर्कामा परेका हुन् ।

अहिलेसम्म २७ हजार ६ सय ५४ जनाको पुनर्योगको नतिजा आउँदा १ हजार ५ सय ५९ जनाको ग्रेड बढेको छ । यो कुल नतिजाको ५.६३ प्रतिशत हो, जुन विगतका वर्षहरूभन्दा धेरै बढी त्रुटि हो । यस पटक विद्यालयमै उत्तरपुस्तिका परीक्षण गरिएकाले पनि यस्तो भद्रगोल भएको र त्रुटिको सङ्ख्या बढेको परीक्षा नियन्त्रक कार्यालयले स्वीकारेको छ । अझै कतिपय विद्यार्थीको त उत्तरपुस्तिका नै नभेटिएर पोकाहरू खोज्नुपर्ने झन्झट आइलागेको छ, जसले गर्दा नतिजा आउन ढिलाइ भइरहेको छ ।

आगामी असार १ गतेदेखि हुने भनिएको ग्रेडवृद्धि परीक्षा अगावै बाँकी विद्यार्थीहरूको पनि नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ । परीक्षा बोर्डले विद्यार्थीका लागि पुनर्योगको सन्तुष्टि नमिले उत्तरपुस्तिका आफैँ हेर्न पाउने र पुनः परीक्षण समेत गराउन पाउने सुविधा दिएको छ । यस्तो लापरबाहीले बोर्डको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको छ ।

ताजा समाचार