२४ असार २०८३, मंगलवार

२० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


nrb

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलतालाई व्यवस्थापन गर्ने रणनीति अन्तर्गत २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ जारी गर्ने भएको छ। बजारमा पैसाको सन्तुलन मिलाउन केन्द्रिय बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै आगामी असार २२ गते मध्याह्न १२ बजेसम्मका लागि बोलकबोल (बिडिङ) आव्हान गरेको हो। बहुब्याजदर विधिबाट ब्याजदर निर्धारण हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८४ असार २२ गते हुनेछ भने खरिदकर्ता बैंकहरूले प्रत्येक ६ महिनामा यसको ब्याज पाउनेछन्।

यो प्रक्रियामा सर्वसाधारणले भाग लिन पाउने छैनन्, बरु राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। इच्छुक संस्थाहरूले न्यूनतम ५ करोडदेखि अधिकतम कुल आह्वान रकम (२० अर्ब) सम्मका लागि दशमलव पछिको ४ अंकसम्म ब्याजदर उल्लेख गरेर अनलाइनमार्फत आवेदन दिनुपर्नेछ। बोलकबोलका क्रममा ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखेर एउटा ‘एकल ब्याजदर’ तय गरिनेछ र सो दर वा सोभन्दा कम बोल गर्नेहरूलाई प्राथमिकताका आधारमा ऋणपत्र बाँडफाँट गरिनेछ।

वित्तीय संस्थाहरूका लागि यो ऋणपत्र सुरक्षित लगानी र राष्ट्र बैंकमै धितो राखेर कर्जा लिन पाइने उत्तम अवसर भए पनि यसका नियमहरू भने निकै कडा पारिएका छन्। यदि कुनै बैंकले बोलकबोल स्वीकृत भइसकेपछि निष्कासनको दिन आफ्नो खातामा पर्याप्त रकम (ब्यालेन्स) राख्न सकेन भने उसलाई कडा कारबाही हुनेछ। राष्ट्र बैंकले त्यस्तो लापरवाही गर्ने संस्थाको बोल रकम रद्द गरिदिने मात्र नभई २.५० प्रतिशत हर्जाना (जरिवाना) तिराउने र ६ महिनासम्म खुला बजारका कुनै पनि कारोबारमा सहभागी हुन नपाउने गरी बन्देज लगाउने चेतावनी दिएको छ।

 

ताजा समाचार