मंगलबार राति करिब ८ बजे स्थानीय रामबहादुर साह र बुटन साहको एक समूह तथा रामऔतार साह र उनका छोरा रामेश्वर साहको अर्को समूहबीच जग्गाको विषयमा विवाद सुरु भएको थियो। भनाभन बढ्दै जाँदा दुवै पक्षबीच कुटपिट सुरु भयो।
त्यसै क्रममा आक्रोशित बनेका रामेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरे। चक्कुको गम्भीर प्रहारबाट बुटन साहको ढाडमा गहिरो चोट लाग्यो। उनलाई तत्कालै उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो, तर चोट गम्भीर भएकाले राति करिब ९ बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।
झडपका क्रममा अर्का स्थानीय रामबहादुर साहको टाउकोमा पनि चोट लागेको छ। उनको अवस्था खतरामुक्त रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
आरोपीहरू नियन्त्रणमा, अनुसन्धान सुरु
घटनालगत्तै खटिएको प्रहरी टोलीले हत्यामा संलग्न मुख्य आरोपी रामेश्वर साह र उनका बुबा रामऔतार साहलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्त गौतमका अनुसार, पक्राउ परेका दुवै जनामाथि हिरासतमा राखेर घटनाको थप कानुनी अनुसन्धान अगाडि बढाइएको छ।