२७ असार २०८३, शुक्रबार

५५% जलेका गणेश नेपालीको वीरमा उपचार जारी, अवस्था स्थिर भएपछि मात्र दिल्ली लगिने


मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय जलन पीडित गणेश नेपालीको ज्यान बचाउन सरकारले उच्च तदारुकता देखाएको छ। बिहीबार दिउँसो वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीर ५५ प्रतिशत चलेको अवस्थालाई मध्यनजर गर्दै सरकारले तत्कालै उनको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट बेहोर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र गृहमन्त्री सुदन गुरुङको अहोरात्र खटाइसँगै उनलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित ‘एम्स’ अस्पताल लैजान हवाई उद्धार (एयर एम्बुलेन्स) को सम्पूर्ण तयारी समेत पूरा भइसकेको थियो।

तर, वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’ मा भेन्टिलेटरमा रहेका बिरामीको संवेदनशीलतालाई हेरेर तत्काल भारत लैजाने निर्णय स्थगित गरिएको छ। उपचारमा संलग्न चिकित्सकहरूले बिरामीको वर्तमान अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा ज्यानको जोखिम झन् बढ्ने सुझाव दिएपछि सरकार पछि हटेको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर (Stable) भएपछि मात्रै थप उपचारका लागि विदेश लैजान सल्लाह दिएका छन्।

हाल वीर अस्पतालमा प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली सहित २१ जनाको विशेष टोली बिरामीको उपचारमा निरन्तर खटिएको छ। बिरामीको अवस्थालाई संवेदनशीलताका साथ नियाल्दै गृहमन्त्री गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू समेत गएरातिदेखि वीर अस्पतालमै ‘स्ट्यान्ड बाइ’ रूपमा उपस्थित रहेका छन्।

 

ताजा समाचार