आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
शरीरको ५५ प्रतिशत भाग जलेका नेपालीको आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्याएकाले उनलाई बचाउन निकै चुनौतीपूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए। उनको उपचारका लागि वीर अस्पतालले प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष टोली परिचालन गरेको थियो।
यसअघि अस्पतालले पत्रकार सम्मेलन गरी नेपालीको अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा जटिलता आउन सक्ने जानकारी गराएको थियो। बिरामीको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिए पनि स्वास्थ्य अवस्था स्थिर नभएका कारण अन्यत्र स्थानान्तरण गर्न सम्भव नभएको अस्पतालले जनाएको छ।