१३ श्रावण २०८३, मंगलवार

रास्वपाको उपसभापति बन्दै गृहमन्त्री गुरुङ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री सुधन गुरुङलाई उपसभापति बनाउने तयारी गरेको छ। पार्टीका पदाधिकारीमा समावेशिता नदेखिएको भन्दै वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्ताव गरेपछि सभापति रवि लामिछाने गुरुङको नाममा सहमत भएका हुन्। चितवन महाधिवेशनले नयाँ नेतृत्व चयन गरे पनि पूर्णता नपाएको केन्द्रीय समितिलाई टुंग्याउन रास्वपाले बुधबार चःमतीस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएको छ। उक्त बैठकमा महाधिवेशनको समीक्षा, कार्यविधि परिमार्जन, र सभापतिको राजनीतिक प्रतिवेदनका साथै ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्य मनोनयन गर्ने प्रमुख एजेन्डा रहेको छ।

विधानअनुसार मनोनयनको अधिकार सभापति लामिछानेमा भए पनि यो निर्णय पार्टीभित्रको शक्ति सन्तुलनसँग जोडिएको छ। प्रधानमन्त्री शाह पक्षले ५१ केन्द्रीय सदस्यमध्ये कम्तीमा २४ जना र सचिवालय तथा केन्द्रीय समिति दुवैमा ४० प्रतिशतको दाबी प्रस्तुत गर्दै नाम सिफारिस गरेको छ। फागुन २१ को निर्वाचनअघि पार्टीमा समाहित भएका विभिन्न समूहहरूलाई सम्मानजनक प्रतिनिधित्व गराउनुपर्ने दबाब नेतृत्वलाई छ। हाल सभापतिमा रवि लामिछाने, उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोविता गौतम, तथा महामन्त्रीमा विपिनकुमार आचार्य चयन भइसकेका छन् भने वरिष्ठ नेतामा बालेन्द्र शाहको मनोनयन निश्चित छ। यस्तै, अर्को महामन्त्रीका लागि बालेन टिमले भुपदेव शाहलाई अघि बढाउने तयारी गरेको छ।