१३ श्रावण २०८३, मंगलवार

व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश


काठमाडौँ जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मङ्गलवार सुनुवाइ गर्दै उनलाई दुई फरक कसुरमा कुल १ करोड रुपैयाँ धरौटी तोकेको हो।

गोल्छालाई बिमा सम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरी रिहा गर्न आदेश दिइएको हो।

धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छा समेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम  कसुरमा उनलाई पक्राउ गरिएको थियो ।

विवादित व्यवसायी दीपक भट्टले व्यक्ति तथा निजी कम्पनीहरूबाट सस्तोमा सेयर खरिद गर्ने र तिनको मूल्य बढाएर विभिन्न बीमा कम्पनीलाई बिक्री गर्ने गरेको देखिएको बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

सोही अनुसन्धानले यस्तो गडबडीका प्रमुख पात्रका रूपमा भट्ट र भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप चाचान रहेको उल्लेख गरेको छ । उनीहरूले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९६ र ९८ अनुसार धितोपत्र बजार प्रभावित पार्ने तथा जालसाजीयुक्त कारोबार सम्बन्धी कसुर गरेको बोर्डको निष्कर्ष रहेको थियो ।

उनलाई काठमाडौँकाे नारायणचौर (नक्साल) बाट पक्राउ गरिएको थियो । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन्।