भक्तपुरको सिरुटारस्थित एक पुनर्स्थापना केन्द्रमा उपचाररत ४२ वर्षीय उमेश खड्गीको शंकास्पद मृत्यु भएपछि स्थानीय स्तरमा तनाव सिर्जना भएको छ। अत्यधिक मदिरा सेवनको लतबाट छुटकाउ पाउन भन्दै ‘उत्साहित सुधार गृह’ भर्ना गरिएका खड्गीको आइतबार एकाबिहानै मृत्यु भएपछि सुधार गृहको हेरचाह र उपचार पद्धतिमाथि प्रश्न उठेको छ।
अचानक स्वास्थ्यमा समस्या देखिएको भन्दै उनलाई मध्यपुर थिमी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए।
अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको र घटनाको स्पष्ट कारण नखुलेको भन्दै मृतकका आफन्त तथा परिवारजनले सुधार गृह परिसर र वरपर उग्र विरोध प्रदर्शन सुरु गरेका छन्।
सुधार गृहभित्र लापरवाही वा यातनाका कारण मृत्यु भएको आशंका गर्दै आफन्तहरूले घटनाको निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्न माग राखेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक कार्कीका अनुसार घटनाको वास्तविक कारण पत्ता लगाउन र परिस्थिति नियन्त्रणमा लिन प्रहरीले गहन अनुसन्धान अघि बढाएको छ।