राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको मुख्य प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम र कार्यशैली दुवै रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक परिवर्तनपछि विभिन्न स्थान र विमानस्थलहरूको नाम फेरिए पनि मुख्य प्रशासनिक केन्द्रको नाम भने पुरानै ढाँचामा कायम राखिएकोमा प्रश्न उठाए। नेपालमा जैविक रूपमा सिंह नपाइने तर्क गर्दै उनले ऐतिहासिक सान्दर्भिकता गुमाइसकेको ‘सिंहदरबार’ नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ वा अन्य उपर्युक्त नाम राख्न सकिने सुझाव दिए।
सांसद ढकालले नाम परिवर्तनको साङ्केतिक प्रसङ्गसँगै मुख्य प्रशासनिक केन्द्रको सोच, भाषा र कार्यशैलीमा विद्यमान परम्परागत धङधङीलाई चिर्नुपर्नेमा विशेष जोड दिए। देशको विकास र सुशासनका लागि शासन सत्ताको ‘मुहान’ मानिने केन्द्रीय प्रशासन सुध्रिनु अनिवार्य रहेको उनको भनाइ थियो। सिंहदरबारभित्र अझै पनि सामन्ती शैलीको हाउभाउ, भावभङ्गी र झन्झटिलो प्रशासनिक भाषा कायम रहेको उल्लेख गर्दै उनले यसलाई आधुनिक, जनताप्रति उत्तरदायी र सुशासित बनाउनुपर्ने औँल्याए।
प्रशासनिक केन्द्रको नाम परिवर्तनको बहसले केवल एउटा भवन वा क्षेत्रको पहिचानलाई मात्र नभई समग्र निजामती प्रशासनको कार्यसंस्कृति फेर्ने आवश्यकतालाई सङ्केत गर्दछ। पुरानै सोच र परम्परागत ढर्राबाट प्रशासनिक संयन्त्र चल्दा जनताले परिवर्तनको अनुभूति गर्न नसकेको तर्फ ध्यानाकर्षण गराउँदै उनले प्रशासनिक मुहानमै सुधार नभएसम्म तल्लो तहसम्म सुशासन पुग्न नसक्ने दाबी गरे।