पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ ठेकेदार कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिई राज्यको कोषमा अर्बौँ नोक्सानी पुर्याएको गम्भीर आरोप सामना गरिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने फैसला गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माण सामग्रीमा गैरकानुनी कर छुट दिएर भ्रष्टाचार गरेको दाबीसहित दायर गरेको मुद्दामा बयान दिन अदालत पुगेका कार्कीले यो आदेशसँगै अब थुनाबाहिरै रहेर मुद्दाको न्यायिक प्रतिरक्षा गर्न पाउने भएका छन्।
३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको यस चर्चित प्रकरणमा अदालतको पछिल्लो आदेशसँगै न्यायिक प्रक्रिया थप अघि बढेको छ।