२६ श्रावण २०८३, सोमबार

दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान सुरु


नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका मुख्य सहयोगी तथा पूर्वस्वकीय सचिवहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण र गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान तीव्र बनाएको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव गंगा दाहालविरुद्ध परेको उजुरीका आधारमा अख्तियारले विस्तृत छानबिन प्रक्रिया अघि बढाएको हो। आयोग स्रोतका अनुसार भानु देउवालाई सम्पत्तिको स्रोत खुलाउने विस्तृत विवरण (फारम) भर्न लगाइसकिएको छ भने गंगा दाहालसहित उनका पति एवं कोशी प्रदेशका पूर्वमन्त्री जीवन आचार्यको नाममा रहेको सम्पत्तिको खोजी पनि तीव्र पारिएको छ।

शक्ति केन्द्रको नजिक रहेर अकुत सम्पत्ति कमाएको आरोप लागेका शीर्ष नेताका निकटस्थहरूमाथि अख्तियारले कसैलाई बाँकी नराख्ने नीति अख्तियार गरेको छ। यसअघि नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि पनि छानबिन थालिसकेको आयोगले अहिले प्रमुख तीनै दलका शीर्ष नेताका स्वकीय सचिवहरूलाई एउटै दायरामा ल्याएको हो। सत्ता र शक्तिको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशङ्कामा आयोगले उनीहरूको बैंक खाता, घरजग्गा तथा अन्य व्यावसायिक लगानीको सुक्ष्म विश्लेषण गरिरहेको छ।

ताजा समाचार