गत भदौको ‘जेन्जी आन्दोलन’ले सिर्जना गरेको अराजक परिस्थितिलाई ‘कमाऊ धन्दा’ बनाएका एक युवक अन्ततः जेल चालिएका छन्। सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका तत्कालीन डीन डा. होमनाथ जोशीको निवासबाट बा २ झ २८५९ नम्बरको सरकारी गाडी चोरेर भारत पुर्याई स्वरूप फेरेर बेच्ने मुख्य योजनाकार २३ वर्षीय निराजन कुँवरलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो। आन्दोलनको मौका छोपी सरकारी सम्पत्तिमाथि आँखा गाड्ने र त्यसलाई भारत लगेर ‘चेसिस नम्बर’ सम्म मेटाई निजी गाडीका रूपमा रूपान्तरण गर्ने संगठित गिरोहको बदमासी प्रहरी अनुसन्धानबाट पर्दाफास भएको छ।
चोरीको गाडीलाई वैधानिक जस्तै बनाएर किन्ने र स्वरूप फेर्न सघाउने काष्ठ व्यवसायी अर्जुन कार्की भने साढे तीन लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका छन्। कुँवर र कार्की मिलेर गाडीलाई भारतको ग्यारेजमा पुर्याई चेसिस नम्बर मेट्न लगाई कार्कीको पुरानो गाडीको नम्बर (सु.प.प्र ०१-०१ च ३६८७) राखी निजी बनाइएको थियो। ४ लाख रुपैयाँमा सरकारी सम्पत्तिको किनबेच गर्ने र आफ्नै लिगासैनी सःमिल तथा फर्निचर उद्योगमा राखी स्वरूप परिवर्तन गर्ने यो धन्दामा संलग्न एक जना जेल पर्दा अर्का व्यवसायी भने धरौटीमा तारेख धाउने स्थितिमा पुगेका छन्।