२७ श्रावण २०८३, मंगलवार

कोलम्वियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु, राष्ट्रिय विपद् घोषणा


पश्चिमी कोलम्बियामा सोमबार बिहान गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा १११ जनाको मृत्यु भएको छ। देशका नवनिर्वाचित राष्ट्रपति एबेलार्डो डे ला एस्प्रियलाले दिउँसो जानकारी दिँदै भूकम्पका कारण १,६०० भन्दा बढी भवनहरूमा क्षति पुगेको बताएका छन्। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले दर्जनौँ मानिस घाइते भएको, धेरैजसो मानिसहरू भत्किएका संरचनाभित्र थुनिएको र व्यापक रूपमा भौतिक क्षति भएको बताएका छन्।

भूकम्पको केन्द्रविन्दु चोको (Chocó) विभागको सान जोसे डेल पाल्मार (San José del Palmar) नगरपालिकामा रहेको थियो। भूकम्पपछि उत्पन्न संकटको सामना गर्न र आपतकालीन राहत तथा उद्धार कार्यलाई तीव्र बनाउन राष्ट्रपति एस्प्रियलाले देशमा ‘राष्ट्रिय विपद्’को घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ (X) मार्फत जानकारी दिँदै उद्धार र सहायता कार्यलाई व्यवस्थित रूपमा अघि बढाउन ‘एकीकृत कमाण्ड पोस्ट’ स्थापना गर्न आदेश दिइसकेको जनाएका छन्।

भूकम्पको धक्का केन्द्रविन्दुबाट टाढासम्म महसुस गरिएको थियो। चोकोबाट करिब २५४ माइल दक्षिणमा रहेको भाले डेल काउका (Valle del Cauca) का गभर्नर डिलियन फ्रान्सिस्का टोरोले त्यहाँको अवस्था निकै गम्भीर र चिन्ताजनक रहेको बताएका छन्। प्रभावित क्षेत्रहरूमा अहिले उद्धारकर्मीहरू भग्नावशेषमा थुनिएका मानिसहरूको खोजी तथा उद्धार कार्यमा जुटिरहेका छन्।

 

ताजा समाचार