५ भाद्र २०८३, बिहीबार

मन्त्री र सांसदहरुलाई हरुलाई रविले भने- काम गर्ने भए गर्नुहोस्, संसद् र सरकारमा रमिता नदेखाउनुहोस्


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सांसद र मन्त्रीहरूबिच बढ्दै गएको असमझदारी र अमर्यादित गतिविधिलाई लिएर सभापति रवि लामिछानेले कडा रूप अपनाएका छन्। बुधबार संसदीय दलको कार्यालयमा बसेको संयुक्त बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता बानेन्द्र शाह अनुपस्थित रहेपछि लामिछाने आफैँले दुवै पक्षलाई आमने-सामने राखेर ठोस निर्देशन दिएका हुन्। आफ्नै पार्टीका मन्त्रीहरूको कार्यशैलीमाथि सांसदहरूले नै प्रश्न उठाउनुपर्ने स्थिति बनेको भन्दै उनले सरकार र दलको छवि सुधार्न तत्काल शैली फेर्न सचेत गराए।

बैठकमा सभापति लामिछानेले मन्त्रीहरूलाई लक्षित गर्दै बाहिर ‘रमिता’ नदेखाई गम्भीरताका साथ कार्यसम्पादन गर्न चेतावनी दिएका छन्। उनले हालका मन्त्रीहरू नफेरिने आश्वासन दिँदै राम्रो काम गर्ने नियत भए ढिलाइ नगरी नतिजा दिन आग्रह गरे। सांसदहरूलाई भने मन्त्रीहरूसँग चित्त नबुझेका विषयहरू बोधार्थसहित लिखित रूपमा बुझाउन निर्देशन दिँदै आफूले पनि त्यसको अध्ययन गर्ने प्रतिबद्धता जनाए। संसद्मा इतिहासकै बलियो प्रतिपक्षको सामना गरिरहेकाले संयम र प्रगाढ समन्वयका साथ अघि बढ्न उनको जोड थियो।

यसैगरी, सांसदहरूको कार्यशैली, अनुपस्थिति र संसद् नियमावलीको उल्लङ्घन जस्ता अमर्यादित व्यवहारमाथि पनि लामिछानेले कडा आपत्ति जनाए। संसद् बैठकमा अनुपस्थित हुने र मर्यादाविपरीत अभिव्यक्ति दिने प्रवृत्ति स्वीकार्य नहुने भन्दै उनले सबैलाई आफ्ना आचरण सुधार्न निर्देशन दिए। आफैँले बनाएको नियम पालना गरेर सदन र सरकार दुवै ठाउँमा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले अमर्यादित गतिविधि दोहोरिए पार्टीले कडा कदम चाल्ने सङ्केत दिएका छन्।

 

ताजा समाचार