७ भाद्र २०८३, शनिबार

पहिरोले यी सडक छन् अवरुद्ध


pahiro gayo

अविरल वर्षाका कारण देशका पहाडी तथा हिमाली जिल्लाहरू जोड्ने प्रमुख राजमार्गहरू अस्तव्यस्त बनेका छन्। प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार बाढी र पहिरोका कारण १० भन्दा बढी जिल्लाका यातायात सेवा पूर्ण रूपमा ठप्प बनेका हुन्।

पूर्ण रूपमा बन्द भएका प्रमुख राजमार्गहरू

  • मेची राजमार्ग: इलामको राजदुवालीमा बाक्लो हिलो जमेपछि सडक ठप्प छ (वैकल्पिक बाटो प्रयोग गर्न सकिने)।
  • अरनिको राजमार्ग: सिन्धुपाल्चोकको इकु पहिरो र लिपिङमा सडक नै भासिएपछि आवागमन पूर्ण ठप्प।
  • पासाङल्हामु र त्रिशूली-स्याफ्रुबेंसी: रसुवाको स्याउपार्किङमा खसेको पहिरो र खाल्टेमा त्रिशूली नदीले सडक कटान गर्दा दुवै सडक बन्द।
  • सिद्धार्थ राजमार्ग: पाल्पाको सिद्धबाबा सुरुङमार्ग नजिकै खसेको पहिरोले बुटवल-पाल्पा सडकखण्ड ठप्प।
  • अन्य राजमार्गहरू: लमजुङको रामबजार (बेँसीसहर–मनाङ), रुकुम पश्चिमको रिजेगार्ड (जाजरकोट–डोल्पा भेरी करिडोर), र रोल्पाको झकली (घोराही–थवाङ सहिदमार्ग) मा पहिरोका कारण गाडी चल्न सकेका छैनन्।

जोखिम नियन्त्रणका लागि रात्रिकालीन प्रतिबन्ध पहिरोको जोखिम बढेपछि सम्भावित दुर्घटना टाल्न केही सडकखण्डमा रातको समयमा सवारी चलाउन रोक लगाइएको छ:

  • बिपी राजमार्ग (खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी): साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म पूर्ण बन्द (दिउँसो मात्र खुल्ला)।
  • कान्ति लोकपथ: साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक।
  • टोखा–छहरे सडक: राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म अत्यावश्यकबाहेक अन्य गाडी चलाउन मनाही।