१४ भाद्र २०८३, शनिबार

रसुवा बाढी अपडेट : मृतकको संख्या ६२६ पुग्यो


रसुवा बाढीका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ६२६ पुगेको प्रहरीले जनाएको छ। शनिबार अपराह्न प्रहरीद्वारा सार्वजनिक पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी चितवनमा २३३ र नवलपरासी पूर्वमा १५८ जनाको शव फेला परेको छ। यसैगरी गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाले ज्यान गुमाएका छन्। बाढीबाट प्रभावित क्षेत्रहरूमा उद्धार र खोजी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

विपद् लगत्तै खटिएको सुरक्षा टोलीले हालसम्म २ हजार ३०१ जनाको सकुशल उद्धार गर्न सफल भएको छ। जसमध्ये नुवाकोटबाट १ हजार ६२२, रसुवाबाट ६७६ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ। यसैगरी बाढीमा परी घाइते भएका १४० जनाको काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको र केही डिस्चार्ज भइसकेको प्रहरी विवरणमा उल्लेख छ।