रसुवामा गएको विनाशकारी बाढीले भयावह मानवीय क्षति पुर्याएको छ। नेपाल प्रहरीले सोमबार राति ८ बजेसम्म सार्वजनिक गरेको तथ्यांक अनुसार कुल ९७४ जनाको शव फेला परिसकेको छ, जसमध्ये ३८२ पुरुष, २०९ महिला, २८ बालक र ३५ बालिका रहेका छन् भने ३२० शवका आंशिक अंग मात्र भेटिएका छन्।
हालसम्म ९२७ वटा शवको कानुनी प्रक्रिया (लास मुचुल्का) पूरा गरी ५१ वटा शव आफन्तलाई बुझाइएको छ। पहिचान हुन नसकेका ४१३ वटा शवलाई भने सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
यस भीषण प्राकृतिक विपत्तिपछि सिर्जित परिस्थिति अझै अन्योलग्रस्त र कारुणिक बनेको छ। बाढीका कारण हालसम्म ४ हजार ५९९ जना सर्वसाधारण सम्पर्कविहीन रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ। उद्धार र खोजी कार्य जारी रहे पनि यति ठूलो संख्यामा मानिसहरू बेपत्ता हुनु र सयौँ शवको पहिचान नहुनुले प्रभावित क्षेत्रमा शोक र चिन्ता थप गहिरो बनाएको छ।