२१ भाद्र २०८३, शनिबार

चीनमा पहिरोबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो, ५३१ बेपत्ता


चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको गाइरोङ बन्दरगाहमा अगस्ट २६ मा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। ५३१ जना अझै बेपत्ता रहेको स्थानीय आपतकालीन प्रतिक्रिया तथा उद्धार कमाण्ड सेन्टरले जनाएको छ।

उद्धारकर्ताले घटनास्थलबाट ९८७ वटा व्यक्तिगत सामान फेला पारेका छन्। तीन प्रभावित गाउँमा सम्भावित जोखिमको निरीक्षण तथा मूल्यांकन पूरा गरिएको छ। दुई वटा अस्थायी आपतकालीन आश्रयस्थलका लागि स्थान छनोट गरिएको छ भने आपतकालीन निकासीका लागि आवश्यक संरचना निर्माण भइरहेको छ।

जी२१६ उद्धार मार्गमा गरिएको निरीक्षणका क्रममा ५८ वटा सम्भावित भौगर्भिक जोखिमस्थल पहिचान गरिएको अधिकारीहरूले बताएका छन्।

सम्भावित थप विपद्को जोखिम पहिचान र रोकथामका लागि १७२ विज्ञ तथा प्राविधिक घटनास्थलमा खटिएका छन्। उनीहरू मौसम विज्ञान, प्राकृतिक स्रोत, जलस्रोत र आपतकालीन व्यवस्थापनसम्बन्धी निकायका साथै चिनियाँ विज्ञान प्रतिष्ठान र सुरक्षा विज्ञान तथा प्रविधि प्रतिष्ठानसँग सम्बन्धित छन्।

पहिरोका कारण भवन, विद्युत आपूर्ति संरचना र गाइरोङ बन्दरगाह जोड्ने जी२१६ राजमार्गको केही भागमा क्षति पुगेको छ। सडकमा क्षति भएपछि उद्धार कार्यमा कठिनाइ भए पनि चीनले हेलिकप्टर, स्पिडबोट र रबरका डुंगा परिचालन गरेको छ।

उद्धार अभियानमा करिब दुई हजार ३०० उद्धारकर्मी, ४०० भन्दा बढी खोज तथा उद्धारका सवारीसाधन र आठ हजारभन्दा बढी उपकरण परिचालन गरिएको छ। उद्धारका क्रममा ८०० भन्दा बढी ड्रोन उडान र २४ हेलिकप्टर उडानसमेत गरिएको छ।