रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३४४ पुगेको छ। नेपाल प्रहरीले शनिबार बिहान ५ बजे सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ अनुसार विपद् प्रभावित क्षेत्रका विभिन्न स्थानबाट १ हजार ३४४ जनाको शव फेला परेको पुष्टि भएको हो ।
प्रहरीका अनुसार बरामद गरिएका शवमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन् । यसका साथै, पहिचान हुन बाँकी रहेका ५०१ वटा आंशिक अंगहरूसमेत उद्धार टोलीले फेला पारेको छ। बाढीको विनाशकारी असरका कारण अझै पनि ठूलो संख्यामा मानिसहरू बेपत्ता रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।
हालसम्मको तथ्यांक अनुसार ४ हजार ८९८ जना नागरिक अझै पनि सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरूले तीव्र रूपमा खोज तथा उद्धार कार्य जारी राखेका छन्, जसअन्तर्गत अहिलेसम्म ८ हजार ६३१ जना बाढी प्रभावितहरूलाई जीवितै उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।