बाराको पचरौताबाट प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। पचरौता नगरपालिका–७ स्थित बेनौली चोक नजिकैको धानखेतबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १५१ किलो गाँजा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार शनिबार राति करिब १०ः३० बजे विशेष सुराकीका आधारमा एम्बुस थापेर निगरानी गरिरहेको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो।
प्रहरी चौकी श्रीनगर बैरियाका असई राजेश सिंह र सशस्त्र प्रहरी बल बीओपी बेनौलीका सई श्यामबहादुर खत्रीको संयुक्त कमान्डमा खटिएको टोलीले धानखेतको आली हुँदै ८-९ जना व्यक्तिहरू पिठ्युँमा भारी बोकेर आउँदै गरेको देखेको थियो। शंकास्पद गतिविधि देखिएपछि प्रहरी टोलीले नियन्त्रणमा लिन प्रयास गर्दा उनीहरू बोकेको सामान खेतमै फालेर रातको फाइदा उठाउँदै फरार भएका थिए।
टोलीले घटनास्थलबाट जुटको बोरामा प्याक गरिएका ९ वटा पोका बरामद गरेको छ। जोख्दा प्रत्येक पोकामा करिब १६.७७ किलो गरी कुल १५१ किलो गाँजा रहेको पुष्टि भएको छ। बरामद गरिएको लागुऔषधलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ बुझाइएको छ भने फरार तस्करहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।