७ पुष २०८१, आईतवार

मौद्रिक नीति बहस : गभर्नर भन्छन् – कोभिडकालको खुकुलो नीतिको निरन्तरता हुँदैन


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रलाई कोभिडकालको जस्तो खुकुलो मौद्रिक नीतिको निरन्तरताको अपेक्षा नगर्न आग्रह गरेका छन् । नेपाल व्यवस्थापन संघको मौद्रिक नीति ०८०/८१ विषयक छलफल कार्यक्रममा उनले आगामी मौद्रिक नीति खुकुलो बनाउन नसकिने बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति मुद्रास्फीति नियन्त्रणमा केन्द्रित हुने बताए । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बजेटका कार्ययोजनालाई सहयोग गर्ने भए पनि मुद्रास्फीति नियन्त्रणमा राख्ने आफ्नो मूल म्यान्डेटलाई छाड्न नुहने उनको भनाइ छ ।

‘कोभिडमा हामी अलिकति खुला भएका थियौँ । यसपछाडिको कारण सरकारको सीमित स्रोत थियो । स्वास्थ्य क्षेत्रमा ठूलो रकम खर्च गर्नुपर्ने आवश्यकता थियो । यहाँ औद्योगिक क्षेत्रमा लगानी गर्ने वातावरण न्यून थियो । व्यावसायिक निरन्तरता कर्जाको सुविधा ल्याइयो । बैंकले दिइरहेको ऋणको थप १० प्रतिशत चालू पुँजी कर्जा दियो । पुनर्संरचना गर्ने सुविधा दियौँ । पुनर्कर्जा दियौँ,’ उनले भने ।

मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने आफ्नो म्याण्डेट भएको भन्दै उनले थपे, ‘मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने हाम्रो प्रमुख म्यान्डेट हो । त्यस्तै, बाह्य क्षेत्रको स्थायित्व कायम राख्दै समग्र अर्थतन्त्रलाई स्थायित्व कायम राख्ने प्रयास हुन्छ । बजेटको कार्ययोजनालाई सहयोग त गर्ने हो । तर, आफ्नो कोर म्यान्डेटमा कम्प्रमाइज नगरी गर्ने हो ।’

केन्द्रीय बैंकले आफ्नो मूल जिम्मेवारीबाट विमुख नभई बजेटका कार्ययोजनालाई सहयोग गर्ने उनले बताए । ‘कस्तो संरचनामा जाने भनेर बजेटले स्पष्ट मार्गदर्शन गरेको पनि छ,’ उनले भने, ‘६ प्रतिशतको वृद्धि र साढे ६ प्रतिशतको मुद्रास्फीतिको लक्ष्य छ । यसमै केन्द्रित हुनुपर्नेछ ।’