१० पुष २०८१, बुधबार

मन्त्री किरातीले सोधेको स्पष्टिकरणको जवाफ नदिने महानिर्देशक अधिकारीको प्रतिकृया


नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफूलाई मन्त्रालयले सोधेको स्पष्टिकरणको जवाफ दिन आवश्यक नभएको जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले महानिर्देशक अधिकारीलाई मंगलवार ९ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।

महानिर्देशक अधिकारीले अति गोप्य पत्र भनेर आफूलाई आएको तर मन्त्री किरातीली सामाजिक सञ्जाल फेसबूकमा सार्वजनिक गरेकोप्रति आपत्तिसमेत जनाएका छन् ।

अधिकारीले भने, ‘जे आइपर्छ, त्यो फेस गर्न तयार छु, तर राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्नेखालको सूचना फेसबूकमार्फत नै मन्त्रीज्यूले चुहाउनुभएको छ, यो आपत्तिजनक छ । यसको स्पष्टिकरण दिन जरुरी छैन ।’

महानिर्देशक अधिकारीमाथि मन्त्रालयले उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाएको छ ।

पर्यटनमन्त्री किरातीले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट घोषणा तथा अन्तर्राष्ट्रिय हवाई संगठनको सिफारिसअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकायका रुपमा छुट्याउने नीति विपरीत सार्वजनिक सञ्चारमाध्यममा कार्यात्मक विभाजन मात्रै गर्दा हुने अभिव्यक्ति दिएको सहित अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रुबाहक विमान र ३ वटा हेलिकप्टरहरु दुर्घटना भएको लगायतका विषय उल्लेख गर्दै स्पष्टीकरण सोधेका छन् ।