११ पुष २०८१, बिहीबार

माओवादी बैठकमा सुनकाण्डबारे चर्चा : छानबिन समिति बनाउन वर्षमानको प्रस्ताव


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा सय केजी सुन काण्डबारे चर्चा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले गरेको काम र काण्डमा नेताहरुको जोडिएको नामबारे चर्चा भएको हो ।

बैठकमा उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सुन तस्करी काण्डको संसदीय वा न्यायिक छानबिन समिति बनाउन प्रस्ताव गरेका छन् । सुन तस्करी प्रकरणलाई लिएर कतिपयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम जोडेको भन्दै उनले सत्यतथ्य छानबिनको माग गरेका हुन् । पुनले दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउँदै अरु पनि तयार हुनुपर्ने बताएका छन् ।

“अनुसन्धानमा विज्ञ निकाय, न्यायिक वा संसदीय छानबिन समिति जे उपयुक्त हुन्छ बनाउँदा हुन्छ, यो प्रकरणको छानबिन हुनैपर्छ”, पुनले पदाधिकारी बैठकमा भनेका छन्, “हामी नेताहरू, हाम्रा आफन्तहरू वा ज–जसको अपराधमा संलग्नता देखिन्छ, त्यसले सजाय भोग्नुपर्छ। जेल जान तयार हुनुपर्छ।”

सय केजी सुन तस्करी प्रकरणमा आइतबार चिनियाँ मुलका बेल्जियमका नागरिक दावा छिरिङ्ग पक्राउ परेका थिए । पक्राउ परेका छिरिङ्गको राजनीतिक तहमा सम्बन्ध रहेको तथ्यहरु बाहिर आएका छन् । वर्षमान पुन, पूर्वराष्ट्रपति नन्दकिशोर पुनलगायतसँग सम्बन्ध रहेको विषय बाहिरिएका छन् । जसलाई पुनले पनि स्वीकार गरेका छन् ।

पार्टी पदाधिकारी बैठकमा नेता पुनले छिरिङ्गसँग आठ वर्ष अगाडि भेटघाट भएको बताएका छन् । तर, पक्राउ परेका छिरिङ्गसँग अन्य कुनै साइनो नभएको पुनको दाबी छ । आफ्नो नाम मुछिएपछि पुनले छानबिन समिति गठनको माग गरेका हुन् ।

पुनले प्रस्ताव गरेको भएपनि उक्त प्रस्तावबारे माओवादी केन्द्रले कुनै निर्णय भने लिएको छैन् । संसदमा विशेषतः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले छानबिन समिति बनाउन माग गर्दै आएको छ ।