७ पुष २०८१, आईतवार

जसपा अध्यक्ष यादवको उपस्थितिमा एन्टाको सातौँ महाधिवेशन सम्पन्न


नेपाल तराइएन संघ अमेरिका (एन्टा)को सातौं महाधिवेशन सम्पन्न भएको छ । अमेरिकाको टेक्सस राज्य स्थित डालस सिटीमा गरिएको कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको हो।

एन्टाको प्रेसीडेन्ट इन्जिनियर मोहन यादवको अध्यक्षतामा भएको कार्यक्रम नेपाल सरकारका पूर्व उपप्रधान एवम् परराष्ट्र मन्त्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष माननिय उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको हो ।

महाधिवेशनको समुदघाटन विशिष्ट अतिथि द्व्य इर्भिङ सिटीका मेयर रिक स्टीफर र नेपाल सरकारको तर्फबाट क्यालिफोर्निया राज्यका लागि पर्यटन सदभावना दूत विजयकुमार चौधरी समेतले पानसमा बत्ती बालेर गरेका थिए ।

कार्यक्रमको आरम्भमा नेपाली र अमेरिकन राष्ट्रिय गान गाउनुको साथै बीच बीचमा सांस्कृतिक नृत्य समेत गरिएको थियो । डालस सिटी स्थित विभिन्न संघसंस्थाका प्रतिनिधीहरू लगायत एन्टाका सदस्य, शुभचिन्तक र समाजका लब्ध प्रतिष्ठित बौद्धिक व्यक्तित्वहरूको राम्रो उपस्थिति रहेको थियो ।

यस महाधिवेशनको पूर्ण सफलताको लागि शुभकामना दिनेहरूमा मेयर स्टीफर, नेपाल सरकारका पर्यटन सद्भावना दूत चौधरी, एन्टाका प्रमुख सल्लाहकार प्रध्यापक डा. रामबाबु यादव, बैज्ञानिक डा. ईन्द्देव साह, पूर्व अध्यक्ष प्रो.विजय सिंह, यूएन प्रतिनिधी डा. रामकृष्ण साह, सल्लाहकार सुजीत झा, आजीवन सदस्य श्याम कार्की, डा.उमेश यादव, मधेशी समाजका अध्यक्ष रामकृष्ण यादव, बीजेन साह, अभिनन्दन यादव, ललीत यादव लगायतका व्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।

यस महाधिवेशनले यादवको अध्यक्षतामा निम्नानुसारको पदाधिकारीहरू रहने घोषणा गरेको छ । प्रेसीडेन्ट यादव(भर्जिनिया), वरिष्ट उपाध्यक्ष कुशेश्वर मण्डल(केन्टेकी), उपाध्यक्ष राजवीर यादव(भर्जिनिया) ,अन्तर्राष्ट्रिय उपाध्यक्ष(खुशनन्दन ठाकुर), महासचिव डा.रबीन्द्र मण्डल(न्यूयोर्क), सहसचिव आशिष झा(कोलोराडो), कोषाध्यक्ष ब्रजेश ठाकुर(भर्जिनिया) ,सहकोषाध्यक्ष सुनिल यादब(ओरेगन), प्रवक्ता कन्चन ठाकुर(भर्जिनिया) रहेका छन् ।

त्यस्तै कार्यकारिणी सदस्यहरू लक्ष्मी राउत चौधरी(क्यालिफोर्निया), बन्दना देव(नर्थ क्यारोलिना), मकेश्वर राय(ऋक्), शत्रुघन साह(इलिनोइस), रूपेश कुमार मण्डल(केन्टेकी) रहेका छन् ।

एन्टाले विभिन्न महानुभावहरूलाई पुरस्कृतसमेत गरेको छ । पुरस्कृत हुनेहरूमा नेपाल सरकारका पर्यटन सदभावना दूत विजय कुमार चौधरी (एन्टा आउटस्ट्याण्डिङ एक्जेक्युटिभ एवार्ड), चर्चित अर्थ शास्त्री स्वर्गीय डा. सुखदेव साहकी धर्म पत्नी विजया शाह (एन्टा आउटस्ट्याण्डिङ लाइफटाइम एवार्ड),  सुजित कुमार झा (एन्टा आउटस्ट्याण्डिङ एक्सिलेन्स एवार्ड) लगायतका एक दर्जन व्यक्त्तिहरू रहेका छन ।

प्रमुख अतिथी यादवले महाधिवेशनलाई सम्बोधन गर्दै प्रवास  रहेका सबै नेपालीहरूलाई एक आपसमा समन्वय गरी मिलेर जान र नेपालको समृद्धिमा लाग्न आहवान गर्दै गैर-आवासीय नेपालीहरूको नागरिकता लिने कामको थालनी हुनुको साथै सम्पूर्ण समस्याहरूको पहल कदमी गर्न नेपाल सरकार तयार रहेको बताउँदै एन्टाको सातौं महाधिवेशनको पुर्ण सफलताको कामना गरेका छन् ।