यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा फिल्म ‘प्रसाद २’बाट विपिन कार्की उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । बुधबार शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट उनीहरुले अवार्ड ग्रहण गरे । उनीहरुले यसअघि पनि राष्ट्रिय अवार्ड प्राप्त गरिसकेका छन् ।
राष्ट्रिय अवार्डमा उत्कृष्ट फिल्म भने ‘बुलाकी’ बन्यो । यसले अन्य दुई विधामा पनि अवार्ड जितेको छ । लेखनमा राजबहादुर साने र छायांकनमा शिव ढकालले अवार्ड प्राप्त गरेका हुन् । उत्कृष्ट निर्देशकको अवार्ड भने ‘दिमाग खराब’बाट निश्चल बस्नेतले प्राप्त गरे । सम्पादनतर्फ ‘महाजात्रा’बाट मित्र डी गुरुङ उत्कृष्ट घोषित हुँदा आदिवासी मातृभाषी फिल्मतर्फ ‘लोजिमा’ले अवार्ड जितेको छ ।
त्यस्तै, निर्णायक समिति प्रोत्साहन पुरस्कार ‘टुल्की’बाट अभिनेत्री स्वस्तिमा कार्कीलाई प्रदान गरियो भने ‘जारी’ले व्यावसायिक सफल फिल्मको अवार्ड जित्यो । विशेष चलचित्र पुरस्कार भने ‘सतीदेवी’, ‘सुगुप’ (लिम्बु भाषा) र ‘मार्कली’ (गुरुङ भाषा)लाई प्रदान गरियो । यी तीन फिल्मले सबटाइटलिङको लागि २ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
सोही कार्यक्रममा ३ लाख ७५ हजार नगद राशीसहित ‘चलचित्र दीर्घ साधना सम्मान’ चैत्यदेवी सिंहलाई प्रदान गरिएको छ । उनी नेपालको पहिलो फिल्म ‘आमा’की अभिनेत्री हुन् । यसैगरी, विशेष योगदान सम्मानबाट त्यैयव शाह, नारायण प्रधान, नरेन्द्र महर्जन, नन्द किशोर प्रसाद श्रीवास्तव, विद्या कार्की, बुद्धि तामाङ, सबिता गुरुङ लगायत सम्मानित भएका छन् ।