७ बैशाख २०८२, शनिबार

ट्वाइलेटबाट निस्केपछि योगेशको प्रतिक्रिया – कार्यक्रम भव्य रूपमा सम्पन्न भयो !


नेकपा (एमाले) का सचिव योगेश भट्टराईविरुद्ध ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपमा नाराबाजी भएको छ । कञ्चनजङ्घा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कञ्चनजङ्घा महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुन शुक्रबार भट्टराई पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँगै हेलिकप्टरमार्फत लेलेप पुगेका थिए ।

कार्यक्रम समापनपछि फर्कने क्रममा भट्टराईविरुद्ध ‘नो केबलकार’ समूह र पहिचानवादी समूहले नाराबाजी गरेका थिए । मन्त्री पाण्डे हेलिकप्टर नजिक पुगिसकेका थिए, तर भट्टराई कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालयमा गएका थिए । शौचालयमा प्रवेश गर्नासाथ प्रदर्शनकारीहरूले शौचालय घेरेर नाराबाजी गरे । प्रहरीले तत्कालै हस्तक्षेप गरी भट्टराईलाई सुरक्षा प्रदान गर्‍यो, तर केही समयका लागि प्रहरीले शौचालयको ढोका बाहिरबाट चुकुल लगाएको थियो ।

स्थिति नियन्त्रणमा आएपछि प्रहरीले चुकुल खोलेर भट्टराईलाई बाहिर निकाली हेलिकप्टरमार्फत काठमाडौँ फर्काएको थियो । पछिल्लो समय ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयमा विवाद चर्किएको छ । भट्टराईले केबलकार निर्माणको पक्षमा वकालत गर्दै आएका छन्, जबकि ‘नो केबलकार’ समूह र पहिचानवादीहरूले यसको विरोध गर्दै कोशी प्रदेशमा उनलाई निषेध गर्ने घोषणा गरेका छन् ।

भट्टराईको प्रतिक्रिया: कार्यक्रम भव्य

नाराबाजीको घटनाप्रति भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै दुई–चार जनाले गरेको नाराबाजीलाई नेपाली जनताको लोकतान्त्रिक अधिकारको प्रयोग भएको बताएका छन् । उनले भने, ‘कञ्चनजङ्घा हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा ताप्लेजुङको लेलेपमा हिजोदेखि सुरु भएको कञ्चनजङ्घा महोत्सव वैशाख ७ गते समापन हुनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय बद्री पाण्डेको प्रमुख आतिथ्यमा लिम्बु, राई, शेर्पा जातिको सांस्कृतिक झाँकी र आकर्षक नाचगानसहित उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भयो ।’

उनले थपे, ‘कार्यक्रम सकेर फर्कने क्रममा २/४ जनाले मेरो विरोधमा नारा लगाएछन् । यो नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग हो । मलाई कुनै दुख छैन । तर, विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनुपर्छ । मेरो आग्रह छ– विवेकले काम गरौँ, प्रायोजकहरूको हतियार नबनौँ, सामाजिक एकता र सद्भाव नबिगारौँ ।’