
सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन भएको छ । आज बिहान बसेको सिंहदरवारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो ।
शनिबार बिहानदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो । वार्ताले छलफललाई निरन्तरता दिने र आन्दोलनका क्रममा शिक्षकहरुले उठाएका मागहरु पूरा हुनुपर्ने माग शिक्षकहरुले गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
सुवेदीले शिक्षक महासंघ अहिले आन्दोलनमा रहेको र आन्दोलनका क्रममा उठाएका विषयवस्तुहरु मन्त्री पन्तसँग छलफल भएको बताए । बैठकले छलफल र संवादलाई निरन्तरता दिने निर्णय गरेको उनको भनाइ छ ।
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले सरकारले शुक्रबार दोस्रो पटक गरेको परिपत्रको आधारमा औपचारिक छलफलमा आएको बताए । उनले अहिले नै निस्कर्षमा पुगि नसके पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल सरकारले आफूहरुका माग पूरा गरेको खण्डमा निस्कर्षमा छिटै पुग्ने बताए ।
उनले मुलुकभरका विद्यालय र ७० लाख विद्यार्थी र अभिभावकहरुको जिम्मेवारी पनि शिक्षक महासंघलाई रहेको भन्दै शिक्षक कर्मचारीको सेवा सुविधा मात्रै सुनिश्चित गर्नका लागि नभइ गुणस्तरीय शिक्षा प्रदान गर्न नेपाल सरकार शिक्षा ऐन ल्याउन माग गर्दै आन्दोलनमा होमिएको बताए । केही समय लाग्नसक्ने तर निकास दिएरै छोड्ने उनको भनाइ छ ।