
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ। अख्तियारले केहीबेरअघि भट्टराईलाई टंगालस्थित आफ्नो कार्यालयमा लगेको हो।
भट्टराईलाई मंगलबार बेलुका मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रमुख अध्यागमन अधिकृतबाट गृह मन्त्रालयमा आकस्मिक सरुवा गरिएको थियो।
गृह मन्त्रालयले उनको ठाउँमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतका रूपमा पठाउने निर्णय गरेको थियो।
अख्तियारले भट्टराईमाथि प्रमुख अध्यागमन अधिकृत हुँदा दैनिक ४ सय जनासम्मलाई भिजिट भिसामा पठाएर प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म असुल्ने गरेको उजुरी परेको थियो।
सोही उजुरीका आधारमा अख्तियारले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको र कम्प्युटरलगायतका कागजातहरू नियन्त्रणमा लिएको बताइएको छ।