१२ पुष २०८१, शुक्रबार

होटेल क्राउन इम्पेरियलले आईपीओ निष्काशन गर्ने


काठमाडौं – अर्किड होल्डिङ्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलले साधारण शेयर निष्काशन गर्ने भएको छ । जसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

होटेल क्राउन इम्पेरियलको सय रुपैयाँ अंकित दरका १ अर्ब १५ करोड रुपैयाँ रकम बराबरको १ करोड १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री गर्न बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलसँग सम्झौता गरेको हो ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिङ्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलको तर्फबाट प्रबन्ध संचालक सुधिर मान मास्केले हस्ताक्षर गरेका छन् । कम्पनीले २०७६ असार १३ बाट रविभवन, काठमाडौंमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ ।

१३१ ओटा कोठा रहेको चार तारे होटलमा लाइभ म्युजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, बैंक्वेट हल, जिम, स्विमिङ पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।