काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार ३८.३७ अंकले बजार घट्दै २०५१.४७ को बिन्दुमा झरेको छ ।
उच्च अंकले बजार घट्दा आइतबार नेप्सेका सबै समूहहरु राताम्मे बने । आइतबार सबैभन्दा धेरै अंकले जीवन बीमा, निर्जिबन बीमा र होटेल तथा पर्यटन समूहका कम्पनीको मूल्य घटेको छ ।
घटेको बजारमा प्रोगेसिभ फाइनान्सको मूल्यमा ९.५९ अंकले गिरावट आएको छ भने अभियान लघुवित्तको मूल्यमा पनि ८.०४ अंकले गिरावट आएको छ । यस्तै, सर्पोट माइक्रो फाइनान्सको मूल्यमा पनि ७.१४ अंकले घटेको छ ।
उच्च अंकले बजार घटेको भएपनि आइएमई लाइफ इन्स्योरेन्स, नेपाल रिपब्लीका मिडिया, कृषि विकास बैंक, पिपुल्स हाइड्रोलगायतको मूल्यमा उच्च अंकले बृद्धि भएको छ ।
कारोबार आएका २१७ कम्पनीमध्ये १९७को मूल्यमा गिरावट आयो भने १८ कम्पनीको मूल्य बढ्यो । यस्तै, दुई वटा कम्पनीको मूल्य यथास्थितिमा रहे ।
घटेको बजारमा विशेषतः वाणिज्य बैंकहरुको उच्च कारोबार भयो । कारोबारको हिसाबले कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कमर्शीयल बैंक अगाडि रहे । सानिमा बैंकको१२ करोड ६९ लाख बराबरको सेयर किनबेच भएको छ । यस्तै, एभरेष्ट बैंकको पनि १२ करोड २१ लाख बराबरको सेयर किनबेच भएको छ ।
आइतबार बजार घटेको भएपनि कारोबार रकम भने यसअघिका दिनमा भन्दा उच्च रह्यो । आइतबार ८० लाख सात हजार ३६१ कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम दुई अर्ब ६८ करोड ७१ लाख बराबरको रह्यो ।