३ असार २०८३, मंगलवार

. ६१ हजार बढी नेपालीले लिए जेठमा श्रम स्वीकृति, २९ हजार त फर्किएरै विदेशिए


जेठ महिनामा वैदेशिक रोजगारीको ग्राफमा गिरावट पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा केही कमि आएको छ। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांक अनुसार गत जेठ महिनामा कुल ६१ हजार ७२ जना नेपालीले मात्र श्रम स्वीकृति लिएका छन्, जुन अघिल्लो महिना (वैशाख) को तुलनामा १३ हजार ३ सय ५७ ले थोरै हो। वैशाखमा यो संख्या ७४ हजार ४ सय २९ रहेको थियो। जेठ महिनामा बिदेसिनेहरूमध्ये पुरुषको संख्या ५३ हजार ६ सय ९८ र महिलाको संख्या ७ हजार ३ सय ७४ रहेको देखिन्छ।

श्रम स्वीकृतिको प्रकृति र माध्यम रोजगारीका लागि विदेशिने यो संख्यामध्ये विभिन्न माध्यम र प्रक्रियाबाट श्रम स्वीकृति लिने गरिएको पाइएको छ। सबैभन्दा बढी १९ हजार ४ सय ५५ जनाले म्यानपावर कम्पनीहरूमार्फत संस्थागत रूपमा श्रम स्वीकृति पाएका छन् भने ११ हजार ५ सय ३ जनाले व्यक्तिगत प्रयासमा यो प्रक्रिया पूरा गरेका छन्। यसैगरी सरकारी माध्यम (जी–टु–जी) बाट ६ सय ५२ जना विदेशिँदा, २९ हजार ३ सय ७१ जनाले पुनः श्रम स्वीकृति (Re-entry) लिएका छन्। बाँकी ९१ जना भने यसअघि बिना कागजात रहेका र अहिले वैधानिक प्रक्रियामा आएका श्रमिक हुन्।

मलेसिया र खाडी मुलुकमै बढी आकर्षण गन्तव्य देशहरूको कुरा गर्दा नेपाली श्रमिकहरूको पहिलो रोजाइमा अझै पनि मलेसिया र खाडी मुलुककै वर्चस्व रहेको छ। जेठ महिनामा मात्रै सबैभन्दा धेरै ८ हजार १ सय ७९ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन्। यसपछि क्रमशः यूएईका लागि ५ हजार ३ सय ९४, कतारका लागि २ हजार ८ सय ८३ र साउदी अरबका लागि २ हजार ५ सय ९८ जनाले अनुमति पाएका छन्। खाडी बाहेक युरोपियन मुलुक रोमानियाका लागि पनि २ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ।

ताजा समाचार