नेपालको भौतिक तथा सामाजिक पूर्वाधार विकासको सबैभन्दा ठूलो साझेदार एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष मासातो कान्दा आज नेपाल आइपुग्दै छन्। नेपालका लागि यो भ्रमण झण्डै डेढ दशकपछिको उच्चस्तरीय र ऐतिहासिक कूटनीतिक अवसर हो। आज नेपाल ओर्लिने कान्दाको मुख्य राजनीतिक भेटघाट भने प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबारका लागि तय भएको छ। रोचक कुरा के छ भने, पदबहाली गरेदेखि अहिलेसम्म कुनै पनि विदेशी कूटनीतिज्ञ वा अधिकारीलाई एक्लै नभेटेका प्रधानमन्त्री शाहले पहिलोपटक यो अडान तोड्दै अध्यक्ष कान्दासँग एकल (वान टु वान) वार्ताको अभ्यास सुरु गर्दैछन्, जहाँ नेपालस्थित एडीबीको टिम र उच्च प्रतिनिधिमण्डल मात्र साक्षी रहनेछन्।
यो भ्रमण केवल राजनीतिक र कूटनीतिक शिष्टाचारमा मात्र सीमित हुने छैन, यसले नेपालको अर्थतन्त्र र पूर्वाधारमा ठूलो वित्तीय सहयोगको ढोका खोल्दैछ। अर्थ मन्त्रालय स्रोतका अनुसार सोमबार अध्यक्ष कान्दाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग द्विपक्षीय हित र नीतिगत प्राथमिकताका विषयमा सघन छलफल गर्नेछन्। सोही अवसरमा नेपालमा १६ करोड ५० लाख अमेरिकी डलर (करिब २२ अर्ब रुपैयाँभन्दा बढी) बराबरका दुई ठूला वित्तीय सम्झौतामा हस्ताक्षर हुने कार्यतालिका छ। जसमा भन्सार प्रणालीको आधुनिकीकरणका लागि ५ करोड डलर र एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रीय) आयोजनाका लागि ११ करोड ५० लाख अमेरिकी डलरको ऋण सम्झौता समावेश छ।
राजनीतिक र वित्तीय संवादका अलावा एडीबी प्रमुखले नेपालमा आफ्नो लगानीको प्रभावकारिता स्थलगत रूपमै नियाल्ने भएका छन्। उनले एडीबीकै ठूलो लगानी रहेको नेपाल विद्युत प्राधिकरणको भार सम्प्रेषण केन्द्र (Load Dispatch Centre) को विशेष अवलोकन गर्ने कार्यक्रम छ। नेपाल जस्ता विकासोन्मुख सदस्य मुलुकका लागि एडीबीको पछिल्लो लगानी नीति, अनुदानका नयाँ प्राथमिकता र नेपालको पुँजीगत खर्च बढाउने रणनीतिका विषयमा समेत यो भ्रमणका क्रममा गम्भीर समीक्षा हुने बताइएको छ।