एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र एडीबीबीच २५ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष कान्दाको उपस्थितिमा भएको उक्त सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गर्नुभएको हो । यो सहयोगले नेपाल र एडीबीबीचको ६ दशक लामो साझेदारीलाई थप मजबुत बनाउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।
प्राप्त कुल ऋणमध्ये ११ करोड ५० लाख डलर स्थानीय तहको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा खर्च गरिनेछ । विशेषगरी साना तथा मझौला सहरहरूको खानेपानी पूर्वाधार सुधार गर्ने लक्ष्य राखिएको यस आयोजनाबाट नेपालका १३ जिल्लाका करिब साढे ८ लाख नागरिक लाभान्वित हुने अनुमान गरिएको छ । यसले नगरबासीलाई स्वच्छ खानेपानी र राम्रो ढल निकासको व्यवस्था मिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
बाँकी ५ करोड अमेरिकी डलर भने ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रम (सबप्रोगाम– २)’ अन्तर्गत परिचालन गरिनेछ । यस रकमबाट भन्सार प्रणालीलाई प्रविधिमैत्री र आधुनिक बनाइनेछ भने भन्सार कार्यप्रक्रिया तथा लजिस्टिक सेवाको समेत स्तरोन्नति गरिनेछ । यो आयोजनाले व्यापार लागत घटाउन, सीमापार व्यापारलाई सहज बनाउन र क्षेत्रीय आपूर्ति प्रणालीलाई बलियो बनाउँदै नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको छ ।