शेयर बजारको एकमात्र नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेतृत्व परिवर्तनको खेल सुरु भएको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरञ्जीवी चापागाईंले सोमबार आफ्नो पदबाट अप्रत्याशित रूपमा राजीनामा दिएका छन्।
नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष बुझाइएको उक्त राजीनामा पत्र सोमबार नै स्वीकृत समेत भइसकेको छ। चापागाईंले राजीनामाको मुख्य कारण ‘व्यक्तिगत’ उल्लेख गरे पनि यसलाई अर्थमन्त्रालयमा भएको नेतृत्व परिवर्तन र नयाँ आर्थिक नीतिको रापतापसँग जोडेर हेरिएको छ।
अर्थमन्त्रीको ‘बजार सुधार’ एजेन्डा र चापागाईंको बहिर्गमन
पूँजी बजारको आधुनिकीकरण, नयाँ स्टक एक्सचेन्जको अनुमति, र पुराना संरचनागत समस्याहरू सुधार्ने दबाबका बीच अर्थमन्त्रालयको कमान्ड सम्हालेका डा. स्वर्णिम वाग्लेले नेप्से र धितोपत्र बोर्ड (सेबोन) जस्ता निकायहरूको कार्यक्षमतामा प्रश्न उठाउँदै आएका थिए।
चिरञ्जीवी चापागाईंको बहिर्गमनलाई यही नीतिगत परिवर्तनको पहिलो खुड्किलोका रूपमा बजार विश्लेषकहरूले लिएका छन्।