१९ श्रावण २०८३, सोमबार

डिजिटल भीडतन्त्र : मानवताको मौन मृत्यु


सन् २०१७ मा अमेरिकाको फ्लोरिडामा एक व्यक्ति (पिट्टी रिचर्डसन) पौडी पोखरीमा डुब्दै थिए ।   उपस्थित मानिसहरुले उनलाई सहयोग गर्नुको साटो उनको डुब्दै गरेको अवस्थाको भिडियो खिचे। उनीहरूले भिडियोमा पीडितप्रति कुनै दयाभाव देखाएनन् ।

केही वर्ष अगाडि अष्ट्रेलियाको क्वीन्सल्याण्ड क्षेत्रमा एक भयानक दुर्घटना भयो। कारभित्र घाइते र रगतले लतपतिएका मानिसहरू उद्धारका लागि छटपटाइरहेका थिए। तर, घटनास्थलमा जम्मा भएका केही युवाहरूले घाइतेलाई सहयोग गर्नुको सटो आफ्नो स्मार्टफोन निकालेर टिकटकरसामाजिक सञ्जालमा हाल्नका लागि भिडियो खिच्न थाले।

विश्वका धेरै देशहरु तथा नेपालमा पनि यस्ता घटनाहरु निरन्तर रुपमा घट्दै गएका छन् । त्योमात्र होईन नेपालमा त झन् त्यो भन्दा पनि खतरानाक तल उल्लेख गरिएको जस्तो विकृतिसमेत मौलाउँदै गएको छ ।

आजकल सामाजिक सञ्जालमा कसैको व्यक्तिगत जीवन, सामान्य विवाद वा अधुरो सत्यलाई उचालेर बिना प्रमाण निर्णयकर्ता बन्ने र अनलाइनमा सामूहिक रूपमा चरित्रहत्या गर्ने प्रवृत्ति नेपालमा डरलाग्दो रूपमा बढेको छ। यसरी सामाजिक सञ्जालको चर्को दबाब, धम्की र मानसिक टर्चर सहन नसकेर नेपालमा कतिपय युवा तथा व्यवसायीहरूले गम्भीर मानसिक अवसादमा पुगेर वा आत्महत्या नै गरेर ज्यान गुमाएका दुखद् घटनाहरू सार्वजनिक भएका छन्।

हिजो नेपाली समाज परोपकार, सद्भाव र एक-अर्काको मर्म बुझ्ने समाज थियो, तर आज सामाजिक सञ्जालको आभासी संसारले हामीलाई कता डोऱ्याउँदै छ ?

लाइक, भ्युज र सेयरको मोहका लागि जस्तोसुकै पीडादायी वा अमानवीय घटनालाई पनि क्यामरामा कैद गर्ने प्रवृत्तिको विकास किन भइरहेको होला ?

कसैको मृत्यु, आत्महत्या वा पारिवारिक वियोग जस्ता गम्भीर विषयमा समेत संवेदनहीन भएर टिप्पणी गर्ने वा मजाक उडाउने विकृतिले समाजलाई कुन गन्तव्यतर्फ लैजाला ?

सामाजिक सञ्जालमा जतिसुकै अराजकता मच्चाए पनि कारबाही नहुने प्रवृत्तिले अहिले यस्तो मनोबल बढाएको छ कि, मानिसहरूलाई जे लेखे वा जस्तोसुकै कन्टेन्ट बनाए पनि ‘मलाई कसले के नै गर्न सक्छ र?’ भन्ने अहङ्कार पलाएको छ। पब्लिक एटेन्सन, भ्युज र केही पैसा कमाउने लोभमा अरूको इज्जत, गोपनीयता र मानवीय संवेदनाको धज्जी उडाउँदा पनि कानुन र दण्डहीनताको मौनताले यो अराजकतालाई झन् मलजल गरिरहेको छ । परिणामस्वरुप, आज सामाजिक सञ्जाल अभिव्यक्ति स्वतन्त्र माध्यम होइन, बरु विवेक र नैतिकताको हत्या गर्ने ‘खुला छाडा मैदान’ बन्दै गएको छ।

प्रविधिको पर्दा पछाडि लुकेर संसार हेर्ने छुटले आज मानिसलाई क्रमशः संवेदनहीन बनाउँदै लगेको छ, जसलाई मनोवैज्ञानिकहरूले ‘सहानुभूतिको मृत्यु’ भनी व्याख्या गरेका छन्। जब हामी वास्तविक जीवनका पीडा, दुर्घटना वा क्रूरताहरूलाई प्रत्यक्ष देख्नुको सटो मोबाइल वा ल्यापटपको सानो स्क्रिनमा ‘स्क्रोल’ गर्दै हेर्छौं, तब मस्तिष्कले त्यो दर्दनाक यथार्थलाई महसुस गर्न छोड्छ र त्यसलाई एउटा सामान्य चलचित्रको काल्पनिक दृश्य वा मनोरञ्जनको साधन मात्र ठान्न थाल्छ। यसले मानिसभित्रको अन्तस्करण र मानवीय स्पर्शलाई मार्दै लगेको छ, जहाँ अर्कोको छटपटी, आँसु र वियोगले हामीलाई रुवाउनुको सटो केवल अर्को एउटा ‘भ्युज’ वा ‘कमेन्ट’ लेख्ने अवसर मात्रै प्रदान गरिरहेको हुन्छ।

सामाजिक सञ्जालको यो अन्धो मोहले हाम्रो समाजलाई कस्तो खड्कोतिर धकेलिरहेको छ भन्ने कुराको सबैभन्दा डरलाग्दो रूप ‘सामूहिक संवेदनाको पतन’ हो, जहाँ कुनैपनि आपतकालीन वा मानवीय संकटमा परेका मानिसलाई उद्धार गर्नुको सटो तमासा हेर्ने र भिडियो खिच्ने भीडतन्त्र हाबी हुँदैछ। जब समाजका ठूलो तप्काले कसैको जीवन मरणको दोसाँधलाई ‘मनोरञ्जन’ वा ‘भाइरल सामग्री’ को रूपमा हेर्न थाल्छ, तब त्यो समाजमा मानिस र पशुबीचको नैतिक दूरी मेटिन्छ र मानवीय मूल्यको पूर्ण रूपमा पराजय हुन्छ। यस प्रकारको सामूहिक उदासीनताले भोलि हामी आफैँ कुनै दुर्घटना वा संकटमा पर्दा सहयोग पाउने आशसमेत नमर्ने गरी सामाजिक सम्बन्धका सबै धागोहरू चुँडाल्दै लैजान्छ, जसले अन्ततः एउटा क्रूर, स्वार्थी र दिशाहीन समाजको मात्र निर्माण गर्छ।

मानवीय संवेदनाको पतनसँगै पछिल्लो समय हाम्रो समाजमा राजनीतिक चेतना र विवेक पनि गम्भीर रूपमा पतन हुँदै गएको छ। आफ्ना राजनीतिक दल, नेता वा विचारप्रति हुनुपर्ने स्वस्थ आलोचनात्मक दृष्टिकोण हराएर गएको छ र त्यसको ठाउँमा खतरनाक ‘अन्धभक्ति’ ले लिएको छ। आज आफ्नो प्रिय पार्टी वा नेताले जस्तोसुकै जनविरोधी, अवाञ्छित वा गलत काम गरे पनि त्यसको सत्यतथ्य बुझेर विरोध गर्नुको साटो, सामाजिक सञ्जालका भित्ताहरूमा उनीहरूका हरेक गलत कृत्रिम कर्मको बचाउ गर्ने र अन्धो समर्थन जनाउने संस्कारले जरो गाडेको छ।

राजनीतिक पूर्वाग्रह र दलीय स्वार्थका लागि डिजिटल प्लेटफर्मलाई ‘प्रोपोगण्डा’ फैलाउने हतियार बनाइएको छ, जसले समाजलाई अझ बढी ध्रुवीकृत र अराजक बनाउँदैछ। गलतलाई गलत र सहीलाई सही भन्न सक्ने नैतिक साहसको मृत्यु भइसकेको छ; बरु आफ्नालाई जोगाउन र अर्कालाई सिध्याउन जस्तोसुकै झूटो कन्टेन्ट, गालीगलौज र चरित्रहत्यालाई पनि न्यायोचित ठान्ने प्रवृत्ति मौलाएको छ। यस प्रकारको राजनीतिक अराजकता र अन्धसमर्थनको संस्कृतिले केवल राजनीतिक दललाई मात्र होइन, सिंगो राष्ट्रको विवेकलाई नै अन्धकारतिर धकेलिरहेको छ।

आजको संसारमा ‘डिजिटल भीडतन्त्र’ एउटा त्यस्तो अदृश्य तर खतरनाक अदालत बनेको छ, जहाँ सत्य के हो भनेर बुझ्ने फुर्सद कसैलाई छैन तर सजाय सुनाउन सबै तयार हुन्छन्। सामाजिक सञ्जालमा आएका अधुरा भिडियो, हल्का फुल्का अफवाह वा कसैको व्यक्तिगत जीवनका कुरालाई उचालेर बिना प्रमाण सामूहिक रूपमा चरित्रहत्या गर्ने र मानसिक रूपमा विक्षिप्त बनाउने संस्कृतिले डरलाग्दो रूप लिएको छ। स्क्रिन पछाडि बसेर लेखिने विषालु टिप्पणीहरू र घृणास्पद अभिव्यक्तिको निरन्तर प्रहारले कतिपय मानिसलाई डिप्रेसनको खाडलमा धकेल्दै आत्महत्यासम्म गर्न बाध्य पारिरहेको छ, जसले भौतिक हतियार नचलाई नै मान्छे मार्ने आधुनिक हिंस्रक रूप धारण गरेको छ।

यसप्रकारको डिजिटल अराजकता र संवेदनहीनता केवल आजको वयस्क समाजमा मात्र सीमित छैन, यसले भोलिको भविष्य बोकेका बालबालिका तथा नयाँ पुस्तामा गम्भीर ‘पुस्तान्तरणको संकट’ निम्त्याइरहेको छ। मोबाइलको स्क्रिनमा दैनिकजसो देखिने भद्दा मजाक, गालीगलौज, अरूको पीडामा गरिएको उपहास र भाइरल संस्कृतिको यो जालोलाई उनीहरूले आधुनिकता वा सामान्य जीवनशैली (नर्मल) ठानेर हुर्कनुपर्ने गम्भीर बाध्यता सिर्जना भएको छ। यदि समयमै यो प्रवृत्तिलाई रोकेनौँ भने, आउँदो पुस्ताले समवेदना, आदर र मानवीय मूल्यलाई पूर्ण रूपमा भुल्दै पूर्णतया आत्मकेन्द्रित, क्रूर र भावनाशून्य डिजिटल नागरिकका रूपमा आफ्नो पहिचान बनाउने खतरा अत्यधिक बढेको छ।

यस अराजकताबाट समाजलाई जोगाउन अब प्रविधि चलाउन जान्नु मात्र ठूलो कुरा होइन भन्ने बुझ्न जरुरी छ। मोबाइल र इन्टर्नेटको पहुँच बढ्दै गर्दा विद्यालय तहको पाठ्यक्रमदेखि नै बालबालिकालाई ‘डिजिटल नैतिकता’ र प्रविधिको जिम्मेवारपूर्ण प्रयोगबारे शिक्षा दिनुपर्छ। भाइरल कन्टेन्ट बनाउने होडबाजीबाट टाढा रहेर प्रविधिलाई कसरी मानवताको हित, आपसी सद्भाव र सिर्जनात्मक कामका लागि प्रयोग गर्ने भन्ने कुरा सिकाउनु आजको शैक्षिक आवश्यकता हो।

शिक्षा र चेतनाले मात्रै सबै क्षेत्र सुधार हुन सक्दैन, त्यसैले राज्यका निकायहरू पनि उत्तिकै कडाइका साथ प्रस्तुत हुनुपर्छ। अभिव्यक्ति स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा हुने छाडापन, घृणास्पद अभिव्यक्ति, साइबर बुलिङ र डिजिटल भीडतन्त्र जस्ता गैरकानूनी क्रियाकलापलाई नियन्त्रण गर्न साइबर कानूनको प्रभावकारी तथा निष्पक्ष कार्यान्वयन गरिनुपर्छ। जो कोहीले पनि कानुनभन्दा माथि रहेर अरूको व्यक्तिगत जीवन र संवेदनासँग खेलवाड गर्न नपाउने गरी राज्यले कडा दण्डको व्यवस्था गर्नै पर्छ।

अन्तमा, प्रविधि हाम्रो जीवनलाई सहज बनाउन र जोड्नका लागि बनेको हो, कसैको पीडਾ र संवेदना बेचेर लाइक्स र भ्युज कमाउने माध्यम होइन। संसारमा क्षणिक चर्चा बटुलेर ‘डिजिटल सुल्तान’ बन्नुअघि वास्तविक संसारको एक संवेदनशील, जिम्मेवार र असल मान्छे बन्नु अत्यावश्यक छ। पर्दा पछाडि लुकेर मानवता मार्ने यो विकृतिको अन्त्य गर्न अब ढिला नगरौँ, प्रविधिमाथि मान्छेको विवेकलाई सधैं हाबी राखौँ ।