२२ भाद्र २०८३, आईतवार

कृष्णभिरमा पहिरोको सास्ती: आयल निगमले वैकल्पिक मार्गबाट पूर्ति गर्‍यो उपत्यकाको माग


पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा पहिरो र नदी कटानका कारण सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक बाटो प्रयोग गरी काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति सहज बनाएको छ। भदौ १४ गते त्रिशुली नदीले राजमार्ग भत्काउँदा इन्धन बोकेका ट्यांकर तथा ग्यास बुलेटहरू बाटोमै रोकिएका थिए। उपत्यकामा हुन सक्ने इन्धन संकट रोक्न निगमले त्रिभुवन राजपथ (बाइरोड) मार्फत तराईका उद्योगहरूमा भरिएका ग्यास र इन्धन भित्र्याउन थालेको जनाएको छ।

वैकल्पिक मार्गको प्रयोगसँगै उपत्यकामा ग्यासको आपूर्ति उल्लेख्य रूपमा बढेको निगमको तथ्याङ्क छ। जसअनुसार भदौ १८ गते करिब २४ हजार ५०० र भदौ १९ गते थप ३४ हजार १३४ थान ग्यास सिलिन्डर काठमाडौँ भित्र्याइएको छ। यस कदमले मुख्य राजमार्ग अवरुद्ध भए पनि उपत्यकावासीलाई इन्धन र खाना पकाउने ग्यासको अभाव हुन नदिने निगमको प्रयास सफल भएको देखिएको छ।

यसैबीच, भदौ १० गते भोटेकोशी नदीको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका जिल्लामा पुगेको क्षतिपछि जारी खोज तथा उद्धार कार्यमा पनि निगमले सक्रियता देखाएको छ। उद्धारमा खटिएका हेलिकप्टरहरूका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमार्फत हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन उपलब्ध गराइसकिएको छ। साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिसमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरहरूमा ५७५ थान एलपी ग्यास सिलिन्डरसमेत पठाइएको छ।