सीमावर्ती भोटेकोशी नदीमा आएको भीषण बाढीपछि संकटग्रस्त घोषित क्षेत्रका पीडितलाई राहत दिन देश-विदेशबाट आर्थिक सहायताको ओइरो लागेको छ। सरकारले सहयोग आह्वान गरेको ३६ घण्टा (बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म) को छोटो अवधिमै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ संकलन भएको छ।
विभिन्न १० वटा वाणिज्य बैंकहरूमा खोलिएका खातामार्फत दाताहरूले सो रकम जम्मा गरेका हुन्। यसअघि २ अर्ब १७ करोड २५ लाख रुपैयाँ बचत रहेको उद्धार कोषको कुल मौज्दात नयाँ सहयोग थपिएसँगै ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ।
राहत संकलनको फोकल जिम्मेवारी पाएको अर्थ मन्त्रालयमा बिहीबार ६ घण्टाको अवधिमा मात्रै स्वदेशी निजी क्षेत्रबाट २७ करोड ३३ लाख रुपैयाँ रकम मन्त्रालयमै पुगेर हस्तान्तरण गरिएको थियो। १ करोड रुपैयाँ वा सोभन्दा बढी योगदान गर्ने संस्थागत दाताहरूबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफैँ रकम स्वीकार गरिरहेका छन् भने सर्वसाधारणले पनि सिधै मन्त्रालय पुगेर सहयोग बुझाइरहेका छन्।
भोटेकोशीको बाढीले सीमावर्ती क्षेत्रमा पुर्याएको ठूलो क्षतिपछि मन्त्रिपरिषद्ले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको थियो। अहिले संकलन भएको यो ठूलो रकममा मित्रराष्ट्रहरूले घोषणा गरेको वैदेशिक सहायता भने जोडिन बाँकी नै छ।