२१ भाद्र २०८३, शनिबार

बाढी प्रभावितलाई राहत: एनसेलको निःशुल्क सञ्चार सेवा भदौ २६ सम्म विस्तार


ncell

बाढी प्रभावित क्षेत्रमा निरन्तर सञ्चार सुविधा सुनिश्चित गर्न एनसेलले आफ्ना सेवाग्राहीलाई दिएको निःशुल्क भ्वाइस, एसएमएस र डेटा सेवाको अवधि पुनः थप गरेको छ। भदौ १० गतेको विनाशकारी बाढीपछि उद्धार, राहत र पारिवारिक सम्पर्कलाई सहज बनाउन सुरु गरिएको यो सुविधा अब भदौ २६ गतेसम्म कायम रहनेछ।

पहिलोपटक भदौ १९ सम्मका लागि विस्तार गरिएको यो राहत प्याकेज विपद्को दायरा र सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै दोस्रोपटक सात दिनका लागि थपिएको हो। योसँगै रसुवाका प्रभावित स्थानीयले अब थप एक सातासम्म बिना कुनै शुल्क फोन गर्न, म्यासेज पठाउन र इन्टरनेट प्रयोग गर्न पाउने भएका छन्।

कम्पनीका अनुसार बाढीका कारण क्षति पुगेका आफ्ना नेटवर्क पूर्वाधारमध्ये ९२ प्रतिशत टावरहरू मर्मत गरी पुनः सञ्चालनमा ल्याइसकिएको छ। संकटको यो घडीमा आफन्तसँगको संवाद र राहत टोलीबीचको समन्वय टुट्न नदिन कम्पनीले सञ्चार सुविधालाई निरन्तरता दिएको एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले जानकारी दिए।