अघिल्लो साताको अन्तिम दिन भारी वृद्धि देखेको स्थानीय सुनचाँदी बजारमा साताको पहिलो दिन आइतबार भने ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला तीन हजार १०० रूपैयाँले घटेको छ भने चाँदीको भाउमा पनि प्रतितोला ४० रूपैयाँको गिरावट दर्ता भएको छ।
मूल्यमा आएको यो परिवर्तनसँगै आज नेपाली बजारमा सुन प्रतितोला तीन लाख चार हजार ३०० रूपैयाँमा किनबेच भइरहेको छ। यसअघि शुक्रबार मात्रै तोलामा दुई हजार ५०० रूपैयाँले बढ्दै सुनको कारोबार प्रतितोला तीन लाख सात हजार ४०० रूपैयाँको उच्च विन्दुमा पुगेको थियो। यस्तै, शुक्रबार प्रतितोला चार हजार ७६५ रूपैयाँमा बिक्री भएको चाँदी आज घटेर प्रतितोला चार हजार ७२५ रूपैयाँ कायम भएको छ।
नेपाली बजारमा आएको यो मन्दीको मुख्य कारण अन्तर्राष्ट्रिय बजारको उतारचढावलाई मानिएको छ। विश्व बजारमा आज सुन प्रतिऔंस चार हजार ४३१ अमेरिकी डलरमा कारोबार भइरहेकाले त्यसैको प्रत्यक्ष असर स्थानीय बजार र मूल्य निर्धारणमा देखिएको हो।