भारतले निर्यातमा ४० प्रतिशत महशुल लगाएपछि नेपाली बजारमा प्याजको सर्टेज देखिएको छ, यो सँगै गत आइतवारदेखि नै बजारमा प्याजको मूल्य उकालो लाग्ने क्रम बढेको छ ।
गत शनिवारदेखि लागू हुने गरी भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल तोकेको थियो । एक/दुइ दिनमै त्यसको असर नेपालमा पर्न थालेको हो । गत आइतवार प्याजको थोक मूल्य ६१ रुपैयाँ प्रतिकिलो थियो भने त्यसयता व्यापारीहरूले १०० भन्दा बढी लिन शुरू गरेका छन् ।
प्याजको आयात रोकिएपछि काठमाडौँको कालिमाटीलगायत मुख्य बजारमा प्याजको अभाव भएको छ । बढी मूल्य लिएको भन्दै उजुरी परेपछि वाणिज्य तथा आपूर्ति विभागले बजार अनुगमन गरेको थियो । अनुगमनपछि प्याजको बिक्री लगभग ठप्प भएको छ ।
भारतबाटै प्याज आउन छोडेका कारण बिक्री ठप्प भएको नेपालका व्यापारीहरूले बताएका छन् । आलू प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले प्याजको आयात नै नभएका कारण बिक्री ठप्प भएको बताए ।
यद्यपी मूल्यवृद्धि हुने भएकाले कतिपयले प्याज लुकाएको आशंका सरकारी अधिकारीहरूले बताएका छन् ।
भारतीय निर्यात शुल्कका कारण एशियाली बजारमा प्याजको अभाव हुने र माग धान्न नसकेर चीन र पाकिस्तानको प्याजको मूल्य पनि बढ्नेछ। यसको बढी असर बाङ्लादेश, नेपाल, मलेशिया, यूएई, श्रीलंका लगायत मुलुकमा पर्नेछ ।
गत असार र साउनमा भारतका धेरै शहरहरूमा टमाटरको मूल्यमा उल्लेखनीय वृद्धि भएपछि नेपालमा पनि मूल्य आकाशिएको थियो । यद्यपी नेपालमा भन्दा भारतमा टमाटरको मूल्य उल्लेख्य वृद्धि भएको थियो ।
प्रतिकिलो ४ सय भारूसम्ममा भारतमा बिक्री भएको टमाटरको मूल्य अहिले कम भएको छ । त्यतिबेला भारतको सरकारले नै नेपालबाट टमाटर खरिद गर्ने निर्णय गरेको थियो ।
नेपालमा भने प्रतिकिलो १ सय ५० सम्ममा टमाटर बिक्री भएको थियो ।