२७ असार २०८३, शुक्रबार

सूचक ओरालो, कारोबार जम्प: के नेप्सेले नयाँ बाटो रोज्दैछ?


नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेसँगै धितोपत्र बजारमा लगातार सुस्ती देखिएको छ। नीति सार्वजनिक भएपछिका तीन कारोबार दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक कुल ५० अंकले ओरालो लागेको हो। राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमालाई सम्बन्धित संस्थाको वित्तीय सबलताका आधारमा तय गर्ने नयाँ नीति अघि सारेपछि लगानीकर्तामा बढेको नीतिगत अन्योलता नै बजार घट्नुको मुख्य कारण बनेको छ।

नीतिगत संशयका बीच असार मसान्त नजिकिँदै गर्दा बैंकको साँवा-ब्याज भुक्तानीका लागि लगानीकर्ताले सेयर बिक्री गर्दा बजारमा आपूर्ति (सप्लाई) उच्च भएको छ। यही दबाबका कारण शुक्रबार पनि बजार सुरुवाती समयमा २० अंकसम्म बढेर टिक्न सकेन र अन्ततः १.१३ अंकको सामान्य गिरावटसहित २६००.७८ विन्दुमा समेटियो। वित्तीय दायित्व व्यवस्थापनका लागि सेयर बेच्ने होड चल्दा बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा २ अर्बभन्दा बढीले बढेर ६ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

बजार समग्रमा राताम्मे देखिए पनि कारोबार भएका १३ वटा समूहमध्ये उत्पादनमूलक, निर्जीवन बीमा, लगानी र माइक्रोफाइनान्स उपसूचक भने सकारात्मक रहेका छन्। उतारचढावपूर्ण शुक्रबारको बजारमा आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सर्वाधिक १०.६६ प्रतिशत कमाउन सफल भए भने भगवती हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.७८ प्रतिशतले घट्यो। सूचक घटे पनि कारोबार रकममा आएको उल्लेख्य वृद्धिले तल्लो विन्दुमा खरिदकर्ताहरू पनि उत्तिकै सक्रिय रहेको प्राविधिक संकेत गर्दछ।

 

ताजा समाचार