लामो समयदेखि विभिन्न अवरोधका कारण थन्किएको राष्ट्रिय महत्त्वको हेटौँडा-ढल्केबर ४०० केभी प्रसारण लाइन अब बन्ने अन्तिम चरणमा पुगेको छ। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले हालै साइटमै पुगेर बाँकी कामको अनुगमन गरेपछि आयोजनाले तीव्रता पाएको हो।
विद्युत प्राधिकरणका अनुसार १६ मध्ये १४ वटा टावर पहिले नै बनिसकेका छन् भने बाँकी दुईवटा मल्टिसर्किट टावर पनि १५ दिनभित्रै तयार हुनेछन्। मन्त्रिपरिषद्बाटै निर्णय गराएर गति दिइएको यो आयोजना दसैंलगत्तै चार्ज गर्ने तयारी छ।
अहिले ३ सय मेगावाट मात्र प्रवाह भइरहेको यो लाइन सुचारु भएपछि करिब २ हजार मेगावाटसम्म बिजुली पठाउन सकिनेछ। यसले नेपालको ऊर्जा प्रणालीलाई बलियो ‘मेरुदण्ड’ प्रदान गर्नुका साथै आन्तरिक खपत धान्न र अतिरिक्त ऊर्जा भारततर्फ निर्यात गर्न निकै ठूलो सहयोग पुग्नेछ।