इतिहास र वर्तमानको सासाङ्गमस्थल टुँडिखेल खुलामञ्चमा आज दिउँसो २ बजे नेपाली कांग्रेसको १५औँ महाधिवेशन भव्य रूपमा उद्घाटन हुँदैछ। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको र २०४६ सालको जनआन्दोलनको सफलता गणेशमान सिंहले घोषणा गरेको यही ऐतिहासिक भूमिमा हुन लागेको यो महाधिवेशनलाई पार्टीले नयाँ राजनीतिक अध्यायका रूपमा उभ्याएको छ। पार्टी सभापति गगनकुमार थापाले उद्घाटन गर्ने यस समारोहमा कांग्रेसका शीर्ष नेताहरूसँगै देशका अन्य प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वको समेत विशेष सम्बोधन रहनेछ।
‘ऊर्जाशील कांग्रेस, नयाँ संकल्प’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस महाधिवेशनमा देश तथा विदेशबाट सात हजार पाँच सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ। गत पुस २८ देखि माघ ३ सम्म सम्पन्न दोस्रो विशेष महाधिवेशनको निरन्तरतास्वरूप हुन लागेको यस महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवाहरू जिम्मेवारीमा आइसकेका छन्। पार्टी प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलनमार्फत जानकारी गराए अनुसार, यसपटकको महाधिवेशनबाट ३५ वर्ष मुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक, पेसागत समूह र विदेशमा रहेका नेपालीहरूले समेत कांग्रेसको केन्द्रीय समितिमा पहिलोपटक ऐतिहासिक प्रतिनिधित्वको अवसर पाप्त गर्दैछन्।
महाधिवेशनलाई चुस्त र व्यवस्थित बनाउन सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबारदेखि नै प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भइसकेको छ। निर्वाचन समितिले सहभागिता दर्ताका लागि तीन हजार पाँच सय रुपैयाँ शुल्क तोकेको छ भने आवास व्यवस्थापन समितिले प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक-एक जना संयोजक तोकी होटल तथा बासस्थानको प्रबन्ध मिलाएको छ। प्रतिनिधिहरूले आफ्ना आवाससम्बन्धी सम्पूर्ण सूचना ह्वाट्सएप, एआई नम्बर र एसएमएसमार्फत सहजै प्राप्त गर्न सक्नेछन्।
आइतबारको उद्घाटन सत्रपश्चात् सोमबार र मंगलबार बन्दसत्र सञ्चालन हुनेछ, जसमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेस गर्नेछन्। पेस भएका प्रतिवेदनहरूमाथि भूगोलका आधारमा तीनवटा फरक हलमा विभाजन गरी छलफल चलाइनेछ र सहभागीहरूले डिजिटल बोर्डमार्फत प्रतिवेदन सुन्न तथा हेर्न पाउनेछन्। निर्वाचन समितिले सोमबार दिउँसो २ बजेदेखि ६ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ। महाधिवेशन अवधिभर यातायात व्यवस्थापनका लागि भृकुटीमण्डप, राष्ट्रियसभागृह र पुरानो बसपार्क क्षेत्रलाई निजी सवारीसाधन पार्किङ स्थल तोकिएको छ भने ठूला बसहरूका लागि माइतीघरदेखि भद्रकाली खण्डको एक लेन सुरक्षित गरिएको छ।