नेपालको पुँजी बजारमा लगानीकर्ताको सहभागिता र आकर्षण तीव्र रूपमा बढिरहेको देखिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले संघीय संसद्को अर्थ समितिमा प्रस्तुत गरेको नवीनतम तथ्यांक अनुसार डिम्याट खाता खोल्नेहरूको संख्या करिब ८१ लाख पुगेको छ।
असोज १३ गतेसम्मको विवरण अनुसार कुल डिम्याट खाता संख्या ८० लाख ९५ हजार पुगेको छ भने सक्रिय ‘मेरो सेयर’ खाता ५१ लाख २२ हजारभन्दा बढी रहेका छन्। त्यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्म कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजारभन्दा बढी पुगेको बोर्डले जनाएको छ।
पुँजी परिचालन र बजारको स्थिति पुँजी बजारमा अझै पनि प्राथमिक बजार (IPO) कै हिस्सा ठूलो रहेको छ। संगठित संस्थाहरूले संकलन गरेको पुँजीमा साधारण सेयरको हिस्सा ४६.२६ प्रतिशत, संस्थागत ऋणपत्रको ३१.०३ प्रतिशत, सामूहिक लगानी कोषको १४.८१ प्रतिशत, विशिष्टीकृत लगानी कोषको ५.१७ प्रतिशत र अग्राधिकार सेयरको २.१७ प्रतिशत हिस्सा रहेको छ।
बोर्डले गत आर्थिक वर्षमा ५२ वटा संस्थालाई ७९ अर्ब ७३ करोड र चालु आर्थिक वर्षको असोज १३ गतेसम्म चारवटा संस्थालाई ४ अर्ब ६० करोड रुपैयाँ बराबरको पुँजी परिचालन गर्न स्वीकृति दिएको छ। साथै, हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड रुपैयाँ बराबरको पुँजी परिचालन अनुमति दिइएको छ।
बजार पुँजीकरण र राजस्व वृद्धि दोस्रो बजारतर्फ असोज १३ गतेसम्म नेप्से परिसूचक २,६०३.७१ बिन्दुमा कायम रहेको छ भने कुल बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। पुँजी बजारको यो विस्तारसँगै राज्यले प्राप्त गर्ने राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ, जस अन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै धितोपत्र बजारबाट १५ अर्ब ६१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।