११ आश्विन २०८३, शनिबार

किनेकै दिन बेच्न पाइने, सेयर बजारमा इन्ट्राडे ट्रेडिङ ल्याउने सेबोनको तयारी


नेपाली सेयर बजारका लगानीकर्ताले लामो समयदेखि प्रतीक्षा गर्दै आएको ‘किनबेच’ को नयाँ अभ्यास अब वास्तविकतामा परिणत हुने चरणमा पुगेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एउटै कारोबार दिनभित्र सेयर किनेर सोही दिन बिक्री गर्न पाइने अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) कार्यान्वयनका लागि औपचारिक रूपमा ‘अवधारणापत्र, २०८३’ सार्वजनिक गरेको छ।

यस नयाँ व्यवस्थाअनुसार अब लगानीकर्ताले बजार खुलेको दिन कुनै पनि योग्य कम्पनीको सेयर किनेर मूल्य बढेको खण्डमा वा दिनभरको बजार चाल bujhera सोही दिन बिक्री गरी आफ्नो कारोबार बन्द गर्न सक्नेछन्। यसले गर्दा लगानीकर्ताले सेयर खरिद गरेर डेलिभरी र सेटलमेन्टको लामो प्रक्रिया कुर्नुपर्ने बाध्यताको अन्त्य गर्दै छोटो समयमै मुनाफा वा कारोबारको अवसर प्राप्त गर्नेछन्।

तर, यो सुविधा सुरुवातमै सबैका लागि र सबै कम्पनीमा भने लागू हुने छैन। जोखिमलाई ध्यानमा राख्दै बोर्डले सुरुको चरणमा ‘पहिले किन्ने र पछि बेच्ने’ (बाइ फर्स्ट, सेल लेटर) मोडल मात्र अघि सारेको छ भने पर्याप्त तरलता र बलिया वित्तीय सूचक भएका सीमित कम्पनीहरू तथा मापदण्ड पुगेका योग्य लगानीकर्तालाई मात्रै यसमा समेट्ने प्रस्ताव गरेको छ।

कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउन वास्तविक समयमा जोखिम जाँच (प्रि–ट्रेड रिस्क चेक) तथा मार्जिन घट्न गएमा स्वतः कारोबार बन्द हुने (अटो स्क्वायर–अफ) जस्ता संयन्त्रहरू राखिनेछन्। सरोकारवालाहरूसँगको परामर्श र चार चरणको प्राविधिक परीक्षणपछि पूर्ण रूपमा कार्यान्वयनमा आउने यो नीतिले नेपाली सेयर बजारलाई थप चलायमान र आधुनिक बनाउने अपेक्षा गरिएको छ।