१९ आश्विन २०८३, आईतवार

सुरुङमार्गमा ‘राइडिङको शो’ महँगो: नियम मिच्ने २८४ चालकलाई कारबाही


नागढुङ्गा सुरुङमार्गभित्र चालकहरूको लापरबाहीले सीमा नाघेपछि ट्राफिक प्रहरी एक्सनमा उत्रिएको छ। सुरुङमार्गलाई रेस कोर्स र स्टन्ट देखाउने ठाउँ ठानेर ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालक कारबाहीको दायरामा आएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सुरुङमार्गभित्र लेन अनुशासन पालना नगर्ने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने र तोकिएकोभन्दा तीव्र गतिमा सवारी हाँक्ने प्रवृत्ति बढेसँगै यो कारबाही तीव्र पारिएको हो। सुरुङभित्र सवारी साधनको अधिकतम गतिसीमा प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ र सोहीअनुसारका सूचना बोर्डसमेत राखिएका छन्।

सुरुङमार्गभित्र गरिने यस्ता लापर्बाह गतिविधिले दुर्घटनाको जोखिम उच्च बनाउने र कुनै आकस्मिक परिआएमा उद्धार कार्यसमेत प्रभावित पार्ने प्रहरीको चेतावनी छ। अन्य खुला सडकभन्दा सुरुङमार्ग प्राविधिक र सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील हुने भएकाले थप सतर्कता अपनाएर सवारी चलाउन ट्राफिक प्रहरीले चालकहरूप्रति विशेष आग्रह गरेको छ।

 

ताजा समाचार