ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्मको सात दशमलव नौ किलोमिटर सडकखण्डमा जडान गरिएको ‘स्मार्ट स्ट्रिट LIGHT’ (स्मार्ट स्ट्रिट लाइट) को शुभारम्भ गरेको छ। सडक दुर्घटना न्यूनीकरण गर्ने र रातको समयमा यात्रा सुरक्षित बनाउने उद्देश्यले सुरु गरिएको यस प्रविधिमा आधारित बत्तीको अवधारणा नेपालमै पहिलोपटक ललितपुर महानगरले कार्यान्वयनमा ल्याएको प्रमुख चिरीबाबु महर्जनले दाबी गरे। महानगरले आधुनिक प्रविधिको प्रयोगसँगै स्थानीय कला, संस्कृति र सम्पदाको संरक्षणलाई समेत उत्तिकै प्राथमिकता दिँदै आएको छ।
उक्त शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री सुधन गुरुङले आफूमा कुनै शासकीय घमण्ड र सत्ताको लोभ नरहेको स्पष्ट पार्दै देश र समाजका लागि सकारात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ललितपुर महानगरको जनकेन्द्रित र नवप्रवर्द्धनात्मक कामको प्रशंसा गर्दै उनले महानगरका यस्ता नयाँ सोचबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने बताए। साथै, ललितपुर र भक्तपुरले नेपालको कला, संस्कृति र परम्परा जोगाउन खेलेको भूमिका अनुकरणीय रहेको र त्यहाँ पुग्दा देशको गौरव महसुस हुने गृहमन्त्री गुरुङको भनाइ थियो।