२२ भाद्र २०८३, आईतवार

सरकारी गाडी चढेर क्यासिनो छिरेका पालिका अध्यक्षसहित प्रहरीका हाकिम पनि पक्राउ


नेपाली नागरिकका लागि क्यासिनो प्रवेश र जुवा खेल्न कानुनतः पूर्ण प्रतिबन्ध रहेका बेला वीरगन्जको एक रिसोर्टस्थित क्यासिनोबाट बहालवाला जनप्रतिनिधि र प्रहरी अधिकृत नै पक्राउ परेका छन्। पर्साको वीरगन्जस्थित गण्डकमा रहेको क्लार्क रिसोर्टको ‘गोल्डेन फिगर क्यासिनो’मा शनिबार राति प्रहरीले मारेको छापाका क्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख (प्रहरी निरीक्षक) प्रदीप पौडेलसहित ८ जना नियन्त्रणमा परेका छन्।

पर्सा प्रहरी प्रमुख पवन भट्टराईका अनुसार गाउँपालिका अध्यक्ष यादव ना.१ झ १६८७ नम्बरको सरकारी स्कोर्पियो गाडी चढेरै क्यासिनो पुगेका थिए भने प्रहरी निरीक्षक पौडेल अन्य गाडीमा त्यहाँ पुगेका थिए। नेपाली नागरिकलाई क्यासिनो छिर्न रोक लगाइएको अवस्थामा कानुन कार्यान्वयन गराउने निकायका प्रहरी अधिकृत र जनताका प्रतिनिधि स्वयं क्यासिनोभित्र भेटिएपछि प्रहरी प्रशासनभित्रै खैलाबैला मच्चिएको छ। पक्राउ पर्नेमा अन्य दुई जना नेपालीसहित चार जना क्यासिनोकै कर्मचारीहरू रहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

सरकारी सम्पत्तिको दुरुपयोग गर्दै गाउँपालिका अध्यक्ष क्यासिनो पुग्नु र कानुनको पालना गराउनुपर्ने प्रहरी निरीक्षक नै जुवा अखडामा भेटिनुलाई जिल्ला प्रहरी कार्यालय पर्साले गम्भीरतापूर्वक लिएको छ। क्यासिनोमा नेपालीको प्रवेश, सरकारी गाडीको प्रयोग र उनीहरूको उपस्थितिको उद्देश्यबारे सुक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका गाउँपालिका अध्यक्ष यादव र प्रहरी निरीक्षक पौडेलसहित सबै जनालाई हाल पर्सा प्रहरीको हिरासतमा राखी थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ।